
उदयपुर, असार २८ गते ।
सदरमुकाम गाईघाटको साकेला टोलमा बरुवा खोलाको बाँध फुट्दा स्थानियबासी प्रभावित भएका छन् । त्रियुगा नगरपालिका – ११ को साकेला टोलमा खोलामा बाढीले बाँध फुटाएपछि त्यस क्षेत्रका बासिन्दाहरु प्रभावित भएका हुन् ।
कुलोको मुहानमा लगाएको बाँध खोलाले फुटाएपछि स्थानीयबासी त्रासित भएका छन् । निरन्तर परेको वर्षातले विहिबारदेखि खोलाको बाँध भत्काउन थालेको स्थानियबासीहरुले बताएका छन् । बाँध भत्काउन थालेपछि शुक्रबार नगरपालिका, वडा र सुरक्षा निकायको संयुक्त टोलीले अस्थायी बाँध निर्माण गरेको त्रियुगा नगरपालिका – ११ को वडा सदस्य तारा राईले बताईन् ।
अघिलो दिन निर्माण गरेको बाँधदेखि करिब दुई सय मिटर माथि रहेको कुलोको मुखको बाँध भत्काई बस्ति तिर बाढी पसेको वडा सदस्य राईले बताईन् । बाँध भत्काउन थालेपछि तत्काल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको सहयोगमा अस्थायी बाँध निर्माण गर्ने क्रममा उक्त बाँध फुटाएको उनले बताइन् ।
बाढीले बाँध फुटाउँदा अहिलेसम्म धनजनको क्षती नभएपनि निरन्तर परीरहेको पानीले दर्जनौँ बस्ति उच्च जोखिममा रहेको पालिकाले जनाएको छ । फुटेका बाँधले साकेला टोल, पुरानो गाईघाट, त्रिवेणी लगायतका दर्जनौँ बस्ति जोखिममा परेको पालिकाले जनाएको छ ।
बाँध फुटेको ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा जेसिवी लगाएर अस्थायी बाँध निर्माण गरी बाढीलाई रोक्ने काम भईरहेको पालिकाले जनाएको छ ।
बाँध फुटेपछि उच्च जोखिममा परेको बस्तिहरुका बासिन्दाहरुलाई सुरक्षीत रहन जिल्ला प्रहरी कार्यालयले सुचना प्रकाशन गरेको छ । बाँध फुटेपछि तत्काल रोक थामको काम भईरहेकाले कुनै प्रकारको धनजनको क्षती नभएको भएपनी अविरल वर्षाको कारण बाढी बढेर आउन सक्ने भएकाले सर्तकता अपनाउन सुचना प्रकाशन गरको हो ।