
पूर्णपुष्टि, फागुन १२
दाङमा बाघको छाला ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन् । तुलसीपुरबाट बाघको छाला ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङले आज सार्वजनिक गरेको हो ।
बाघको छाला ओसारपसार गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सल्यानको बागचौर नगरपालिका–९ का २९ वर्षीय सन्दीप डाँगी र वडा नम्बर १५ का ३७ वर्षीय इन्द्रबहादुर थापा विकको साथबाट बाघको टाउकोदेखि पुच्छरसम्मको चार फिट पाँच इञ्च लम्बाइको छाला बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुवै जना सवार रा ४ प ८८४७ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छाला १० लाखमा कारोबार भइरहेको थियो । पक्राउ परेका दुवै जनामाथि वन्यजन्तु मारेर ओसारपसारमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरी थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
