
पूर्णपुष्टि, साउन १५
बुधबारदेखि हराएको एक जना बालकको शव महोत्तरीमा फेला परेको छ । रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ वर्षीय छोरा रितेशको शव फेला परेको हो ।
बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिनुभयो ।
बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
स्थानीयलाई उधृत गर्दै प्रहरीले जानकारी दिए अनुसार बालक आफ्ना सौतेनी आमासँगै बुधबार साँझ निस्केका थिए । तर, राति अबेरसम्म घर नआउँदा बालकको खोजी शुरु भएको थियो । खोजी गर्ने क्रममा बालकको शव फेला परेको डीएसपी विष्टले बताउनुभयो ।
बालकको शव देखिएपछि उनका बुवा र सौतेनी आमा समेत फरार भएका थिए । उनीहरुलाई भने बिहीबार साँझ पक्राउ गरिएको डीएसपी विष्टले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्यार्ईएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेका विष्टले बताउनुभयो ।
बालकका आफ्नी आमा केही दिन अगाडि घरबाट भागेपछि उनका बुवाले दोस्रो विवाह गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
