Saturday, April 26News That Matters

बालबालिकाको समग्र विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री घिमिरे

पूर्णपुष्टि/उदयपुर, चैत २९ गते

-आजका बालक भोलीका कर्णधार, भोलीको नेतृत्व आजकै सुरुवात भन्ने नाराका साथ उदयपुरको कटारी नगरपालिकामा पहिलो बाल महोत्सव सञ्चालन भएको छ ।  प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेद्वारा बुधबार उद्घाटन भएको महोत्सवमा बालबालिका सम्बन्धी विशेष गतिविधि तथा क्रियाकलाप सञ्चालन गरिने मुल आयोजक समितिका संयोजक सुरेश गुप्ताले बताउनुभयो ।

आयोजक जनप्रेमी युवा मञ्च र बाल क्लव सञ्जालका केन्द्रिय अध्यक्षसमेत रहेका गुप्ताले महोत्सवलाई बालअधिकार प्रवद्र्धनको माध्यम बनाउदै बालप्रतिभा, बाल नाटक आदिको माध्यमबाट बाल विवाह, बालश्रमको विरुद्धमा जनचेतना फैलाउने बताउनुभयो । उहाँले महोत्सवबाट उठेको फाईदा रकमबाट कटारी बजारका सडक बालबालिका, श्रमिक बालबालिकाको हितमा काम गरिने पनि बताउनुभयो ।

महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले बालबालिकाको समग्र विकासको निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । बाल महोत्सवलाई बालबालिकाको प्रभावकारी गतिविधिको रुपमा लिइएको भन्दै उहाँले यसबाट बालबालिकाले धेरैभन्दा धेरै फाईदा लिन, ज्ञान आर्जन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । बालबालिकाको क्षेत्रबाट पहल भएको महोत्सवलाई  कमीकमजोरी भएको खण्डमा सबैले सहयोग गरेर प्रभावकारी बनाउन आग्रहसमेत गर्नुभयो ।

प्रतिनिधि सभा सांसद सुरेशकुमार राई, जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राई, सहायक प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख एसपी नवराज भट्ट, कटारी नगरपालिकाकी उपमेयर भिमकुमारी राउत, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, गैरसरकारी संस्था, नागरिक समाज, पत्रकार लगायतले महोत्सवका नाममा भईरहेका विकृति भन्दा पर रहेर सम्पन्न गर्न भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जनप्रेमी युवा मञ्च उदयपुरको मुख्य आयोजना तथा कटारी नगरपालिका र उदयपुर उद्योग वाणिज्य संघ कटारीको सहआयोजामा सञ्चालित महोत्सवमा कृषि, व्यापार, लघु उद्यम, कला, संस्कृति, बाल उद्यान पनि रहेको मञ्चका उपाध्यक्ष सन्तोष काप्mलेले बताउनुभयो । दशदिनसम्म सन्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, ब्रम्हकुमारी राजयोग केन्द्र गाईघाटले स्थापना गरेको ५१ फिट अग्लो शिव लिङ्ग पनि आकर्षण रहने उहाँले बताउनुभयो ।