
पूर्णपुष्टि/उदयपुर, फागुन १७ गते
-जंगली जनावरको आतंक रोक्न तारजाली र विद्युतीय धराप जडान गरिने भएपछि उदयपुरको पूर्वी क्षेत्र कोशी वन्यजन्तु आरक्ष क्षेत्रका बासिन्दा खुसी भएका छन् ।
जंगली जनावरको आतंक रोक्न बेलका नगरपालिकाको वडा नम्बर १ र २ मा तारजाली र विद्युतीय धराप जडान गर्ने भएको हो । पाँच किलोमिटरसम्म तार जाली र सोलारबाट करेन्ट प्रवाह गर्ने विद्युतीय धराप जडान गर्ने योजना रहेको मेयर दुर्गाकुमार थापाले बताउनुभयो ।
कोशी वन्यजन्तु आरक्ष क्षेत्रका अर्ना (जंगली भैसी), हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर र हात्तीलगायतका जंगली जनावरहरूले अन्नबाली सखाप पार्ने भएकाले तारजाली र विद्युतीय धराप जडान गर्न लागिएको हो । यसले त्रियुगा नदी किनार हुँदै, तपेश्वरी, पुरन्दह, भागलपुर, रामनगर टाप्पु, चन्द्रपुर टप्पु, करैया, तल्लो बेलहा, वानडाँडा, गलफडिया लगायत क्षेत्र आसपासको अन्नबाली संरक्षणमा सहयोग पुग्नेछ ।
विगत लामो समयदेखि त्यस क्षेत्रको किसानको अन्न बाली नाली नष्ट गर्ने, जंगली जनावरको आक्रमणबाट मानिसलाई घाइते बनाउने तथा मृत्युसम्म हुने गरेको थियो । जंगल तर्फ सोलार प्यानलबाट करेन्ट प्रवाह हुने तीन लाइन विद्युतीय धराप र किसानको खेतबारीतर्फ ६ फिट उचाइ हुनेगरी तार जाली लगाउने योजना रहेको बताइएको छ । नगरपालिकाबाट चालू आर्थिक वर्षमा २४ लाख रकम विनियोजन गरेर काम थालिएको बताइएको छ ।