
गाईघाट /साउन, २२
भर्खरैमात्र सरुवा भई उदयपुर आएका एक सशस्त्र प्रहरी उपरिक्षकलाई किराँत राई विद्यार्थी संघ, जिल्ला कार्यसमिति उदयपुरले स्वागत तथा अभिनन्दन बुधबार गरेको छ ।नवलपरासी स्थित नेपाली सिमाक्षेत्र सुस्ताको गौरबपूर्ण ढंगले सुरक्षा गरेर नेपाली आत्मसम्मानलाई उच्च बनाउने व्यक्ती सुरक्षा प्रमुखको रुपमा उदयपुर आएको भन्दै सशस्त्र प्रहरी उपरिक्षक गाहारर्धन राईलाई संघले स्वागत तथा अभिनन्दन गरेको हो । संघको नेतृत्वमा विद्यार्थीहरुले सशस्त्र प्रहरी बल, नं. ५ गण उदयपुर (बोक्से) मै गएर उनलाई अभिनन्दन गरेका थिए । राईलाई मायाको चिनो खुकुरी प्रदान गर्दै दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । संघका जिल्ला सल्लाहकार देवराज राई लगायतले उनलाई अभिनन्दन गरेका थिए । विद्यार्थीहरुले उदयपुरमा रहेर पनि देशका लागि गौरबपूर्ण कामहरु गर्न शुभकामना दिएका थिए ।
स्वागत तथा अभिनन्दनप्रति खुसि ब्यक्त गर्दै एसपी राईले सबैमा धन्यवाद व्यक्त गरे । उनले अहिलेको समयमा सहकार्य्विना कुनै काम पुरा हुन नसक्ने भन्दै उदयपुरका सम्पूर्ण क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए ।
शान्ति सुरक्षाको प्रत्याभूति दिलाई नागरिकलाई अमनचयनको अवस्था बनाउने आफुहरुको काम र कर्तब्य भएको भन्दै उनले सोही ढंगले काममा अगाडि बढ्ने बताए । रचनात्मक र सिर्जनशिल कामबाट जनतालाई सुरक्षाको प्रत्याभुति गराउने चाहना पहिलादेखिनै रहेको र त्यही सोँच र बिचारले आफुलाई सफल पनि बनाइरहेको बताए । उनले उदयपुर र उदयपुरबासीका हितमा पनि केही नयाँ र उदाहरणीय काम गर्ने प्रयत्न रहने बताए ।
