Wednesday, May 27News That Matters

बेलकामा पाँचहजार विद्यार्थीकाे आँखा परिक्षण

पूर्णपुष्टि, फागुन २० ।

बेलका नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको आँखा शिविरमा करिब ५ हजार विद्यार्थीले आँखा परिक्षण गराएका छन् । विद्यार्थी परिक्षणको कार्यक्रम अझै जारी रहेको मेयरका स्वकीय सचिव नुनीराम राईले जानकारी दिनुभयो ।

पालिका र मेची आँखा अस्पतालसंगको संयुक्त आयोजनामा गत भदौदेखि पालिका अन्तर्गतका विद्यालयहरुमा आँखा शिविर सञ्चालन गरी विद्यार्थीहरुको आँखा परिक्षण गरिएको हो । हालसम्म ११ वटा विद्यालयमा शिविर सञ्चालन गरी उक्त परिणाममा विद्यार्थीको आँखा परिक्षण गरिएको हो ।

तस्विर साैजन्य ः नुनीराम राइ

परिक्षण गरिएका मध्ये ५१ जना विद्यार्थीको आँखा अप्रेशनका लागि रेफर गरिएका छन् । ३५ जना विद्यार्थीलाई चस्मा वितरण गरिएका छन् । प्राथमिकदेखि माध्यामिक तहसम्मका विद्यार्थी सबैलाई शविरमा लक्षित गरिएको थियो । आँखाको समस्याका कारण वालवालिकालाई पठन पाठनमा समस्या आउने गरेकाले पालिकाको तहबाट नै परिक्षण तथा उपचारको व्यवस्था मिलाईएको स्वकीय सचिव राईले बताउनुभयो । बाँकी विद्यालयहरुमा पनि शिविर सञ्चालन गरी आँखा परिक्षण गराईनेछ । शिविरका लागि नगरपालिका र मातहतका वडा कार्यालयका कर्मचारीहरुका साथै अस्पतालका चिकित्सकटोली खटिइरहेका छन् ।

मानवीय स्वस्थ्यको हिसावले बेलाबेलामा स्वस्थ्य परिक्षण गरिरहनुपर्दछ । त्यसमा पनि आँखा जस्तो सम्बेदनशील र महत्वपूर्ण अंगको परिक्षण अनिबार्यरुपले गर्न आवश्यक छ । निम्नवर्गका वालवालिकालाई यस किसिमको सुविधा र ज्ञान नहुने भएकाले नगरपालिकाकै अगुवाईमा आँखा शिविर राखिएको जनाइएको छ ।

शिक्षा क्षेत्रमा विशेष ध्यान दिदै आएको पालिकाले जाडोमा विद्यार्थीहरुलाई न्यानो कपडासमेत वितरण गरेको थियो । जाँडोमा न्यानो कपडा पाउदा र आँखा परिक्षण, स्वस्थ्य परिक्षण जस्ता सुविधा पाउदा अभिभावक खुसी भएका छन् भने वालवालिका शिक्षाप्रति उत्साहित बनेको राईले बताउनुभयो ।

पालिकाका अन्य सर्बसाधारणसमेतलाई लक्षित गर्दै पालिकाले केहिदिनमै स्वस्थ्य शिविरको आयोजना गर्न लागेको पनि जानकारी दिइएको छ ।