Friday, October 4News That Matters

बेलकामा प्याराग्लाइडिङ्ग तालिम सुरु

जानुका कार्की/सुमन सागर खतिवडा
वेलका, जेठ १४ गते

-पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उदयपुको वेलका नगरपालिकामा एक महिने प्याराग्लाइडिङ्ग तालिम आइतबारदेखि सुरु भएको छ ।

बेलका युवा तथा खेलकुद विकास समितिको आयोजना, बेलका नगरको सहयोग र बुढासुब्बा प्याराग्लाईडिङको सहजिकणमा सुरु तालिमको उद्घाटन मेयर दुर्गाकुमार थापाले गर्नुभयो । उहाँले प्याराग्लाईडिङ उडाएरै तालिमको उद्घाटन गर्नुभयो ।

प्याराग्लाईडिङको व्यवसायिक विकास गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको मेयर थापाले बताउनुभयो । प्रमुख प्रशिक्षक लेखमणी राईले तनमन लगाएर सिकेको खण्डमा प्याराग्लाईडिङ व्यवसायिक रुपमा निकै फाईदा हुने बताउनुभयो ।

वडा नं. ८ को बोपताङबाट उडान गरी वडा नं. ७ को नोजचौरीमा ल्याण्ड गर्नेगरी सञ्चालन भएको तालिममा स्थानीय १३ जना युवाहरुको सहभागिता रहेको छ । तालिमपछि सहभागि युवाहरुलाई स्थानीय स्तरमै रोजगारीसमेत मिल्ने भएको छ । उद्घाटन कार्यक्रममा प्रशिक्षक राईले बेलका नगरलाई हरियाली र वातावरणमैत्री बनाउन मायाको चिनो स्वरुप रुद्राक्षको विरुवा प्रदान गर्नुभयो । उहाँले मेयर थापा, आयोजक समितिका अध्यक्ष सिता राई र वडाध्यक्षहरुलाई रुद्राक्ष विरुवा प्रदान गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्षहरु, सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । वडा नं. ८ को बोपताङ, आहालेडाँडा प्याराग्लाईडिङका लागि उपयुक्त स्थान देखिएका छन् । जिल्लाको सबैजसो स्थानीय तहमा प्याराग्लाईडिङको राम्रो सम्भावना रहेपनि तालिम सञ्चालन गर्नेमा पहिलो बेलका बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0