
उदयपुर, पुस २३ गते ।
स्थानीय सरकारको दोस्रो वर्षलाई उत्पादनवर्षको रुपमा अगाडी बढाएको उदयपुरको बेलका नगरपालिकाले ठूलो मात्रामा कृषि उत्पादनको कार्य अगाडी बढाएको छ ।
मेयर दुर्गाकुमार थापाका अनुसार ८० विगाहामा आलु र ८० विगाहामा गहुँखेती लगाईसकेको पालिकाले पाँचसय विगाहा बढिमा मकैंखेतीको तयारी गरेको छ । त्यसका लागि पालिकाले ६ मेट्रीक टन मकैं विउ कृषकलाई वितरणको तयारी छ । आउदो महिनादेखि नै १४ विगाहामा काक्रा, तरबुजा लगायतका लहरे तथा बगरेखेती थाल्ने तयारी पुरा गरेको पालिकाले उत्पादनलाई समृद्धिसंग जोडेर ठूलो मात्रामा कृषि कार्य थालेको हो । हाल वडा नं. कृषि उत्पादनमा यो जिल्लामै पहिलो र नमूना बन्ने भएको छ ।
पालिकामा एक हजार बढि घरधुरीले खान नपुग्ने तथ्यांक फेला पारेपछि उनीहरुलाई उत्पादन कार्यमा प्राथमिकता दिएको छ । बाँझो रहेर त्यतिकै खेरो गईरहेका जमिन प्रयोगमा ल्याउने मात्र नभई १० धुर मात्र जमिन भएकालाई समेत समेटेर सामुहित खेतीमा जोड दिइएको छ ।
कृषिका लागि अपरिहार्य सिँचाईलाई पालिकाले प्राथमिकतामा राखेर सोलार, भूमिगत सिँचाई प्रणाली अपनाएको छ । खेतीसंगै सिँचाईको सुविधाको व्यवस्था मिलाइएको छ ।
ठूलोमात्रामा कृषिजन्य बस्तेको उत्पादन गरी बाह्य जिल्लामात्र नभई बाह्य देशमै निर्यात गर्ने लक्ष पालिकाको छ । यसबाट पालिकाबासी र सिंगो पालिकाको समृद्धिमा टेवा पुग्ने आशा गरिएको छ ।
पहिलोवर्ष सडकवर्ष मनाएको पालिकाले यसवर्ष उत्पादनवर्षका लागि कृषि ऐन, नियमावली, प्रति जमिनमा बाली लगाउने कार्यविधि लगायतका कानूनी कुरा तयार गरेको छ ।
यसैबीच कृषि तथा पशुपंक्षी मन्त्री चन्द्रपकाश खनालले पालिकाको उत्पादनवर्ष भईरहेको कामको अवलोकन, भ्रमण गरेका छन् । कृषि राज्यमन्त्री रामकुमारी चौधरी, कृषि, वन, सुरक्षा क्षेत्रको प्रमुखहरुसमेतको टोलीले शनिबार (हिजो) गते अनुगमन भ्रमण गरेका हुन् ।
त्यस अवसरमा पालिकाको तर्फबाट मेयर दुर्गाकुमार थापाले ज्ञापन पत्र बुझाउदै मन्त्री खनाललाई वडा नं. २, ३ र ९ मा नदि उकास, खालीपर्ति जमिनमा व्यवस्थित कृषि वन प्रणालीमा आधारित अनुसन्धान केन्द्र स्थापनाको माग गरिएको छ ।
त्यस्तै वडा नंं ५,६,७ र ८ लाई मसलाबाली जोन घोषणा भइसकेकोमा आधुनिक यन्त्र उपकरण, मल, विउ, सिँचाई सुविधा व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिदिन माग गरिएको छ । वडा नं. १ मा कोल्डस्टोर निर्माण र वडा नं. २, ३ र ९ मा ६ सय विगाहा खाली पर्ति जमिनमा चक्लाबन्दीखेती गर्न सकिने तर जमिनको पूर्वतर्फ सप्तकोशी नदी नियन्त्रणका लागि विषेश पहल गर्न माग गरिएको छ । वडा नं. ५,६ ८ पहाडी भूमाग रहेकोले बाख्रापालन व्यवसायका लागि बजेटको माग, दुग्ध प्रशोधन केन्द्रको माग गरिएको छ । सप्तकोशी नदिबाट उकास खाली पर्ती जमिन पालिकाको स्वमित्वमा माग गर्दै राष्टिय ज्ञान केन्द्र तथा कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न माग गरिएको छ ।