Sunday, June 28News That Matters

बोरामा भेटियो महिलाको शव, श्रीमान फरार

पूर्णपुष्टि,चैत्र ३

बल्खुको सुकुम्बासी टोलमा एक महिलाको शव बोरामा भेटिएको छ । सोमबार साँझ साढे ७ बजे प्रहरी पुग्दा टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा शव फेला परेको हो ।

मृतक अन्दाजी ३२–३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन् । उनका श्रीमान सन्तोष सापकोटा भन्ने यज्ञ सापकोटा फरार रहेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेको आशंका छ ।

सन्तोषीको टाउकोमा हथौडाले हानेर हत्या गरेको छ । उनीहरू पछिल्लो समय बौद्धमा बस्दै आएका थिए । सोमबार भने उनीहरू बल्खु पुगेका थिए ।

देवर तेजबहादुर सापकोटाले रगत बगेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

शव तन्नाले बेरेर फ्लास्टिकले बेरेर फेरि बोराभित्र राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबीच घरायसी विवाद थियो । त्यही भएर श्रीमानले हत्या गरेर फरार भएका हुन् कि भन्ने प्रहरीको आशंका छ । यद्यपि श्रीमान पक्राउ परेपछि मात्रै यसबारे थप जानकारी हुने प्रहरीले जनाएको छ ।

उनका श्रीमान यज्ञ सापकोटा पहिले पनि ६ महिना जेलमा बसिसकेको अनुसन्धानमा देखाको प्रहरीले जनाएको छ । अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।