
पूर्णपुष्टि, फागुन २ गते ।
जीवन दुःखमा डुविरहेको बेला खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का पर्शुराम राईले नसोचेको खुसी पाउनु भएको छ । खान, लाउन धौधौ परिरहेको अवस्थाका वहाँले जग्गा, नयाँघर र सबैभन्दा ठूलो कुरो त पेन्सन पाउनु भएको हो । वहाँले उदयपुरको त्रियुगा नगरपालिका १२ विसनपुरमा १० धुर जग्गा, त्यसमा नयाँ पक्कीघर पाउनु भएको छ भने मासिक ११ हजार ५ सय पेन्सन पाउनु भएको छ ।
राईलाई गोर्खा वेलफेयर ट्रष्ट (नेपाल) र युकेमा रहेका वहाँका समकालिन भूतपूर्व आर्मीहरुले यस्तो सहयोग गरेको ऐरिया वेलफेयर सेन्टर, धरानका सिनियर अफिसर पूर्ण लिम्बुले बताउनुभयो ।
बेलैमा ब्रिटिस आर्मीमा लागेपनि तीन महिना नपुग्दै फालिएपछि वहाँको दुःखको दिन सुरु भएको थियो । २०३६ सालमा ब्रिटिस आर्मीमा लाग्नु भएको उहाँका तालिमको क्रममा एक्कासी कान नसुन्ने स्वस्थ्य समस्या देखा परेपछि फालिनु भएको थियो ।
वेलफेयरको तर्फबाट घर निर्माणका लागि ७ लाख र मासिक पेन्सनको व्यवस्था भयो भने जग्गाका लागि समकालिन साथीहरुबाट ७ लाख ४० हजार आर्थिक संकलन भएको थियो । पेन्सन अलवा घर बनाउन वेलफेयरले नै सहयोग गर्ने प्रावधान रहेपनि जग्गा स्वयम्लेव्यवस्था गर्नुपर्नेमा उनीसंग जग्गा किन्ने हैसियतसमेत नरहेपछि आर्थिक सहयोग जुटाउनु परेको थियो । आर्थिक संकलनका लागि सिनियर वेलफेयर अफिसर लिम्बुले नै सयोजन तथा सहजिकरण गर्नु भएको थियो । राई दम्पत्तीले वेलफेयरको तर्फबाट सम्पूर्ण स्वस्थ्य उपचार सुविधा पनि पाउनुहुनेछ ।
वेलफेयरकै निगरानीमा बनेको एकतले पक्कीघर आजै राईलाई हस्तान्तरण गरिएको हो । वेलफेयरको प्रतिनिधित्व गर्दै सिनियर अफिसर लिम्बुले राईलाई घर हस्तान्तरण गर्नुभयो ।
वेलफेयरकै कामको सिलसिलमा खोटाङ पुगेको बेला लिम्बुले राईलाई दयनीय अवस्थामा फेला पार्नुभएको थियो । आर्मीको नाताले त्यसैबेला वहाँलाई सहयोग गर्ने मनोसायका साथ प्रक्रिया अगाडी बढाईदिनु भयो । प्रक्रिया बढाएको एकवर्षभित्रमै उहाँले जग्र्गा, नयाँ घर र पेन्सन पाउनुभएको हो ।
तीन सन्तान र श्रीमतीसहितको राई परिवार खोटाङमा दाजुको घरमै बस्दै आएको थियो । वेलफेयर र समकालिन साथीहरुको सहयोगमा बनेको आफ्नाे नामको घरजग्गामा बस्न पाउदा उहाँको परिवारमा खुसी छाएको छ । “सपना जस्तै लागिरहेको छ ।” उहाँले भन्नुभयो “जीवनदेखि हरेस खाईसकेको अवस्थामा यतिसम्मको सुखको दिन भोग्न पाएँ ।”
५८ वर्ष टेकेका राई र उहाँको परिवारलाई हरम विराम पर्दा नजिक र सुविधामा अस्पताल, यातायात, विद्युत, सञ्चार जस्ता सेवाका लागि उदयपुरको सदरमुकाम गाईघाट नजिकै जग्गाको व्यवस्था मिलाइएको हो । बेलफेयरले यस्ता सामाजिक हित र मानवीय कल्याणका कामहरु गर्दै आएको सिनियर अफिसर लिम्बुले बताउनुभयो ।
