
कात्तिक २० गते ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुभाग परेपछि चौतर्फी आलोचना भईरहेको छ । गएको शनिबार भारतले सार्वजनिक गरेको नक्सामा नेपालको करिब ३ सय ७२ किलोमिटर भन्दा बढी जमिन समेटको भुभाग समावेश गरएको छ ।
दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । अहिले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् ।
यसै क्रममा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ¥याली निकालेर विरोध गरको छ । ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् ।
यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने अनेरास्ववियुका अध्यक्ष ऐन महरले बताए । नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धतासमेत जनाएको छ । प्रदर्शनी मार्गबाट सुरु भएको ¥याली बागबजार हुँदै शान्तिवाटिकामा गएर कोणसभामा परिणत भएको थियो ।
यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक पटक नेपाली पक्षले विरोध जनाउँदै आएका छन् । ‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर नै नेपाली झण्डा फहराएका थिए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति विरोध जनाएका छन् । नेपाल सरकारले भने सीमा मिचिएको भन्ने सम्बन्धमा भारतको आधिकारिक नक्सा मगाएर अध्ययन भएको र चाँडै नै सरकारको तर्फबाट निर्णय आउने जनाएको छ ।
