Sunday, June 28News That Matters

भारतमा फेरि कोरोना सङ्क्रमण बढ्यो

पूर्णपुष्टि, चैत २

भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

गत २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको जनाएका छन् । यसअघि गत डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्रमण भएको पाइएको थियो ।

भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजार भन्दा बढीको मृत्यु भएको छ । एक करोड १० लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् ।

त्यस्तै अहिलेसम्म दुई करोड ९७  लाख  ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको जनाएको छ ।

यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोरोनाको झण्डै ६०  प्रतिशत सक्रिय सङ्क्रमित महाराष्ट्रमा पाइएको छ ।