
पूर्णपुष्टि, बैशाख २७ गते ।
भारतले लकडाउनको मौका छोपेर दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गरेको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल–भारत दशगजा क्षेत्रमा भारतीय पक्षले अवैध पाँच फिटभन्दा अग्लो माटो थपेर बाँध लगाएको हो ।
जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६–५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले त्यसलाई अग्लो बनाउँदैछ ।
दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन । तर भारतले निरन्तर अवैध रुपमा बाँध बनाउँदै आएको छ । बाँधले नेपाली भूभाग डुबानमा पर्दै आएको छ ।
त्यस्ता संरचना भत्काउनु पर्नेमा उल्टै भारतले सिमेन्टका बोराहरूमा माटो ढुङ्गा भरेर बाँधको चौडाइसँगै उचाइ बढाईरहेको छ । दुई किलोमिटरभन्दा लामो, फेद चौडा करिब १० मिटर भएको १५ फिटभन्दा अग्लो बाँध भारतले बनाएको र पानी निकासका लागि एउटा पनि ढोका नराखेको स्थानीयहरुले बताएका छन् ।
स्थानीयले पटकपटक जानकारी गराउँदासमेत सरकारी स्तरबाट रोक्ने पहल नभएको गुनासो गरेका छन् । भारतले अत्याचार गर्दै बाँध बनाएकाले वर्षेनी पिडित हुदै आएको स्थानीयहरुले बताएका छन् ।
