Sunday, June 21News That Matters

भुकम्पमा परी ६ जना घाईते, २७ घरमा क्षती, बाराम्वर पराकम्प

पूर्णपुष्टि, जेष्ठ ५

आज बिहान गएको ५ दशमलव ८ म्याग्रेच्युट भुकम्पले लमजुङमा मानविय क्षती सँगै भौतिक क्षती समेत गरेको छ । भुकम्पमा परि करिब ६ जना घाईते हुनुका साथै २७ घर क्षती ग्रस्त भएका छन् । त्यहाँ पराकम्पहरु आईरहेकाले स्थानीयहरु घरबाहिर खुल्ला ठाउँमा बसिरहेको छ ।

बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्नेच्युट र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन् । केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार अहिलेसम्म भूकम्पमा परी ६ जना घाइते भएको जानकारी आएको छ । ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएको उनले बताए । रेग्मीका अनुसार मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका छन् । घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार हालसम्म ९ जनाको घर भत्किनुका साथै १२ भन्दा बढी घरमा क्षति पुगेको विवरण आएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घाइतेको अस्पतालमा उपचार गराइरहेको र क्षतिका थप विवरण संकलन भइरहेको बताए । उनले २७ वटा घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको बताए ।