
पूर्णपुष्टि, बैशाख १६ गते ।
देशकै सबैभन्दा बढि कोरोना भाइरस संक्रमित स्थान उदयपुरको भुल्केमा आज थप ३३ जनाको स्वाव नमुना संकलन भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मी टोलीले जिल्ला अस्पताल उदयपुरमा स्वाव नमुना संकलन गरेको हो ।
स्थानीयले संक्रमित स्थानका करिब ३ सय घर परिवारको सबैको कम्तिमा एक एक जनाको भएपनि स्वाव नमुना संकलन गरि परिक्षण गर्न माग गरिरहेको बेला क्रमिकरुपले परिक्षण थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
यसअघि भुल्केबाट ३ सय ३६ जनाको परिक्षणबाट २८ जना संक्रमित फेला परेका थिए । त्यसपछि आजसम्ममा थप १ सय २४ जनाको स्वाप नमुना संकलन गरि परिक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएको जनस्वास्थ्यले जनाएको छ ।
भुल्केकै संक्रमितसंगको सम्पर्कको आधारमा उदयपुरको सिवाई, सुन्दरपुर र मोतियाहीबाट ७५ जनाको स्वाव परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
