Thursday, May 28News That Matters

भुल्केमा सरकारले पुष्टि गरेको कोरोना संक्रमित १४ पुग्यो

पूर्णपुष्टि, बैशाख ९ । 

भुल्केमा सरकारले पुष्टि गरेको कोरोना संक्रमितको संख्या १४ पुगेको छ । भुल्केमा थप एकजना कोरोना संक्रमित भेटिएको सरकारले पुष्टि गरेको हो । भुल्केका ४४ वर्षिय पुरुष कोरोना संक्रमित रहेको जनाइएको छ ।

उनी हिजो र अस्ती नेपाली सेनाको स्वास्थ्यकर्मीटोलीले स्वाप नमुना संकलन गरेको २ सय ५१ जना मध्येको भएको जनाइएको छ । समाचारस्रोतका अनुसार परिक्षणको काम धमाधम भइरहेको छ ।

यता कोशी अस्पताल विराटनगरमा स्वाप परिक्षण भएको ६९ जना मध्ये आठजना संक्रमितको संकास्पद रहेको भन्दै आठैजनालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पुनः परिक्षणका लागि लगिएका उनीहरुको स्वाप लिएर धरानमा पुन परिक्षण गरिने जनाइएको छ । उक्त परिक्षणपछि मात्र सरकारले उनीहरुको अवस्था सार्बजनिक गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि गत बैसाख ५ गते सरकारले भुल्केका १२ जनामा कोरोना पुष्टि गरेको थियो भने त्यसको भोलीपल्ट थप एकजना पुष्टि गरेको थियो । उदयपुरको त्रियुगा नगरपालिका ३ मा पर्ने भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीय र चार नेपाली नागरिकको स्वाप परिक्षण गर्दा १३ जना संक्रमित पुष्टि भएको हो । बाँकी ३ जना विराटनगरको एक क्वारेन्टाइनमै रहेका छन् । पछिल्लोपटक आज सरकारले पुष्टि गरेको एक जना भने मस्जिदका संक्रमितको संम्पर्कबाट संक्रमित भएका हुन् । यस्ता संक्रमित कति छन् भन्ने हेतुले भुल्केबाट ३ सय २० जनाको स्वाप नमुना संकलन भएको हो । याे सहित नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ पुग्याे । जसमध्ये चारजना निकाे भएर फर्किए सकेका छन् ।