Tuesday, June 9News That Matters

मन्त्रिपरिषदबाट मल कारखाना खोल्ने प्रस्ताव स्वीकृत

पूर्णपुष्टि, चैत १४

मल कारखाना खोल्ने सरकारको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेस गरेको प्रस्ताव स्वीकृत गरेको हो ।

रासायनिक मलको अभावमा नेपाली किसानले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका लागि सरकारले मल कारखाना स्थापना गर्न लागेको जनाईएको छ । यस वर्ष किसानलाई मलको अभाव हुन नदिने जनाईएको छ ।

मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटिमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनिक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।