
उदयपुर, साउन ३ गते ।
लोकसेवा आयोगले आरक्षण कोटा हटाएकोमा विरोध गर्दै उदयपुरमा सुक्रबार प्रदर्शन भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति उदयपुरको अगुवाईमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला दहनसमेत गर्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा नेपाल प्रहरी र प्रदर्शनकारीबीच पुत्ला खोसाखोस भएको थियो । पुत्ला जलाउन रोक लगाएको प्रहरीले खोस्न जाँदा प्रदर्शनकारीले छेकेका थिए । प्रदर्शनकारीको बीचमा जलाईएको पुत्ला नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको थियो । बलजप्mती प्रदर्शनकारीलाई हटाउदै प्रहरीले पुत्ला खोसेको थियो । पुत्ला खोसेपनि प्रदर्शनकारीले लोकसेवाको आरक्षण हटाउने निर्णय कागज जलाएका थिए ।
मुख्यचौकमा जलाउदै सरकार विरुद्ध चर्को नाराबाजी गरेका प्रदर्शनकारीले आदिबासी, जनजाती, अपांग, दलित लगायतको आरक्षण कोटा हटाएर स्वयम् सरकारले संविधान विरोधी काम गरेको आरोप लगाए । गाईघाट बजार परिक्रमा गर्दै उनीहरुले विपीचौकमा कोणसभा गरेका थिए ।
कोणसभामा बोल्दै नेपाल आदिबासी जनजाति महासंघ उदयपुरका अध्यक्ष केशब मगरले लोकसेवाले आरक्षण सम्बन्धीको निर्णय फिर्ता नलिएको खण्डमा कडा आन्दोलनमा उत्रने बताए । सोको विरुद्धमा भोली (साउन ४) गते १ नं. प्रदेश बन्दको आव्हान गर्दै उनले संविधानले दिएको अधिकार कुनै पनि हालतमा नछाड्ने चेतावनी दिनुभयो । सरकारको यस निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।