
सुनसरी, साउन २६ गते ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मरेका गाईबस्तुमा एन्थे्रक्सको जिवाणु फेला परेको छ । आरक्षणको चरण क्षेत्रमा मरेका पशूचौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेको हो ।
चरण क्षेत्रमा बिहीबार मरेका ४४ वटा गाईबस्तुको रगतका नमुना परीक्षणको क्रममा एन्थ्रेक्सको जीवाणु फेला परेको पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरका पशु चिकित्सकले जनाएको छ ।
विराटनगरको ल्याबमा परीक्षण गर्दा एन्थ्रेक्स भेटिएको रिपोर्ट केन्द्रीय ल्याब काठमाडौं पठाइएको र त्यहाबाट थप पुष्टि आउने जनाएको छ ।
एन्थ्रेक्सको जीवाणुु माटोमा रहने भएकाले घाँसको तल्लो भागसम्मै खाने पशुहरुमा सहजै यस रोग सर्ने चिकित्सकहरुले बताएका छन् । मरेका पशुको सिनो छुँदा, स्वास लिँदा र जीवाणु रहेको स्थानको वरपर घाउचोट लागेका मानिसमा समेत सर्नसक्ने खतरा रहेको चिकित्सकहरुले जनाएको छ ।
एन्थ्रेक्सको जीवाणु माटोमा हुन्छ र हावाबाट पनि सर्दछ । यस रोग लागेपछि उच्च ज्वरो आउने हुनाले पशुको तत्काल मृत्यु हुने गर्दछ । यस रोगबाट मरेका पशुको नाक, कान, मुख तथा मलद्वारबाट रगत निस्कने गर्छ ।
आरक्षको चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु भेटिएपछि संरक्षीत जनावर अर्ना, मृग लगायतका साकाहारी जनावरहरु खतरामा परेका छन् । एन्थ्रेक्सको जीवाणु फेला परेपछि रोकथामको प्रयास थाल्ने तयारीमा जुट्नका लागि माथिको आदेश र रिपोर्टको प्रतिक्षमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ ।
आरक्षभित्र रहेका सबै पशुमा तत्कालै भ्याक्सिन लगाउनु पर्ने जरुरी देखिएकाले सावधानीसहित आरक्ष क्षेत्रमा पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन हुने कार्यालयले जनाएको छ ।
