पूर्णपुष्टि,पुष २७ । मर्जपछि बनेको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार आज देखि सुरु गर्ने भएको छ । दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोवार सुरु हुन लागेको हो ।
यी दुई बैंकको पुष ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
त्यस्तै, मेगा बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको थियो । मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ।
यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हो । इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन। अब मेगा बैंकको १०० कित्ता सेयर हुने हरूको घटेर ९० कित्ता हुनेछ।
यसरी इन्भेष्टमेन्टको १०० कित्ता बराबर मेगाको ९० कित्ता हुने अनुपातमा मर्जर भएको हो।
