
पूर्णपुष्टि, असार २५ ।
जग्गाविवादमा छिमेकी परिवारबाट सांघातिक आक्रमणमा परेको त्रियुगा नगरपालिका ६ मोहनपुरका एक परिवारले दोषीलाई कडा कारवाहीको माग गरेको छ । छिमेकी जगतबहादुर खड्का र छोरासहितले सांघातिक आक्रमण गरी सक्त घाइते पारेको भन्दै कार्की परिवारले कडा कारवाहीको माग गरेको हो ।
स्थानीयहरुका अनुसार उनीहरुबीच पुरानो जग्गा विवाद थियो । जग्गा विवादकै क्रममा अदालतमासमेत मुद्दा चलेको थियो । कार्की परिवारले भोगचलन गर्दै आएको एलानी जग्गामा दावी गर्दै खड्का परिवारले जिल्लादेखि सर्बोच्चसम्म मुद्दा मामिलामा पुगेपनि उनीहरुको हकदावी नपुगे पछि सांघातिक आक्रमणमा उत्रेको पिडितको आरोप छ । हातहाताम लाठ्ठी, खुकुरी, रड, बन्चरो र चिरुवा दाउरा लिएर सांघातिक आक्रमण गरेको र गम्भिर घाइते बनाएको घाइतेका छोरा यज्ञबहादुर कार्कीले बताउनुभयो ।
गत असार २२ गते छिमेकी जगतबहादुरसहित उनका छोराहरु राजनकुमार, चिरञ्जिवि, प्रकाश खड्का र नाती अश्विन खड्कासमेतले घरमै गएर आक्रमण गरेको र कार्की परिवारका तीन जनालाई गम्भिर घाइते बनाएको पिडितका छोरा यज्ञबहादुरले बताउनुभयो । पिडितका छोरा यज्ञबहादुरका अनुसार आक्रमणबाट डम्बरबहादुरा कार्की, उनकी श्रीमती उमादेवी कार्की र बुहारी पार्वतीकुमारी खड्का घाइते भएका हुन् । डम्बरबहादुरको देब्रेहातमा गहिरो चाट लागेको छ भने उमादेवीको हातको दुवैपाता र देब्रे खुट्टा नचल्ने भएको छ । पार्वतीको देब्रे हातको पातो र टाउकोमा गहिरो चोट लागेको छ । जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिएका उनीहरुलाई रेफरपछि विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहको छ ।
कुटपिटमा संलग्न खड्का परिवारका चारजनालाई प्रहरीले पक्राउ गरेको छ भने एकजना अस्विन खड्का फरार रहेका छन् । उनीहरुविरुद्ध पिडितपक्षले जिल्ला प्रहरी कार्यालय उदयपुरमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । कुटपिटमा संलग्न प्रकाश खड्का राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संघ नेपालका केन्द्रिय सदस्य हुन् । उनी आफै आक्रमणको नेतृत्वमा उत्रिएर अंगभंग बनाएको पिडित पक्षको आरोप छ ।
उदयपुर जिल्ला प्रहरी प्रमुख भीमबहादुर दाहालले पिडितले पाँचजनाको नाममा किटानी जाहेरी दिएकोमा चारजना पक्राउ परेका छन् । ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा कारवाहीका लागि अनुसन्धान अघि बढेको उहाँले बताउनुभयो ।
