पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते
-किराँत राई विद्यार्थी संघले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई सोमबार ज्ञापनपत्र बुझाउदै प्रदेश नं. १ को नामाकरण गर्दा “किराँत प्रदेश” हुनुपर्ने माग गरेको छ ।
संघको केन्द्रिय अध्यक्ष विर्सिका राईको नेतृत्वमा विभिन्न जिल्ला अध्यक्षहरु र अगुवा राई विद्यार्थीहरुले मुख्यमन्त्री राईलाई भेटी ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा विभिन्न प्रमाणीत र ऐतिहासिक आधारमा प्रदेशको नाम “किराँत प्रदेश” होस् भनिएको छ । किराँत सभ्याता, सांस्कृतिक, भाषिक, सामाजिक, ऐतिहासिक, भोैगोलिक र राजनीतिक सबैं आधारलाई मध्येनजर गरी प्रदेश नं. १ सरकारले “किराँत प्रदेश” नै नामाकारण गरोस् भनिएको छ ।
संघकी केन्द्रिय अध्यक्ष विर्सिकाले ज्ञापनपत्र बुझाउनु भएको थियो । त्यसक्रममा मुख्यमन्त्री राईले किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक, सामाजिक सबैखाले आधारलाई सम्मान गर्दै र समग्र प्रदेशबासीको भावनालाई समेट्दै प्रदेशको नामाकारण टुंगो लगाईने बताउनुभयो ।