उदयपुर, माघ १४ गते ।
सरकारले सात प्रदेशमा सात सरकारी मेडिकल कलेज खोल्ने भएपछि जनता उत्साहित देखिएका छन् । यतिबेला नेपाल सरकारको शिक्षा विज्ञान प्रविधि मञ्त्रालयले मेडिकल कलेज खोल्नका लागि सम्भाव्यता अध्यायन कार्यदल टोली खटाएको अवस्थामा जनता थप उत्साहित भएको सम्भाव्यता अध्ययन कार्यदलका संयोजक मधुसुधन सुवेदीले बताए ।
टोलीले डोटी, डडेलधुरा, इलाम, पाँचथर लगायत विभिन्न जिल्लाको सम्भाब्यता अध्यायन सकेको छ । अन्तिममा उदयपुर आइपुगेको टोलीले उदयपुरको विभिन्न स्थानको स्थलगत अवलोकन पनि भ्रमण गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डाक्टर मधुसुदन सुवेदीको नेतृत्वको टोलीले सदरमुकाम गाईघाट र आसपासका फर्सेट, सिमलटार, उत्तराहीटोल लगायतका ठाउँहरुको अध्ययन, अवलोकन गरेको हो । कटारी नगरपालिकामा समेत टोली पुगेको छ ।
कलेज खोल्नका लागि नेपाल मेडिकल काउन्सिलले बनाएको मापदण्डको आधारलाई मध्येनजर गर्दै टोलीले अध्यायन अवलोकन गरिरहेको छ । ३५ विगाहा भन्दा बढि जमिन, सडक सञ्जाल खानेपानी तथा अन्य विभिन्न भौतिक पूर्वाधारहरुको आवश्यकता मापदण्डमा तोकिएका छन् । तीनसय विरामी क्षमताको अस्पतालसहितको कलेज सञ्चालनपछि जनघनत्व बृद्धि हुने र सोही अनुरुप होटल, सुरक्षा, यातायात व्यवस्थासमेत हुनुपर्ने बताइएको छ । टोलीले उदयपुरमा हेरेका ठाउँहरु भौगोलिक हिसावले उपयुक्त पाईएको सुवेदीले बताए ।
टोलीसहितको उपस्थितिमा समन्वय समिति उदयपुरले सोमबार आयोजना गरेको बैंठकले मेडिकल कलेजका लागि उदयपुर उपयुक्त रहेको र त्यसका लागि सबै किसिमका सहयोगमा जुट्ने निर्णय गरेको छ । बैंठकका सहभागिहरुले कलेज जिल्लाका लागि मात्र नभई सिंगो १ नम्बर प्रदेशलाई केन्द्रित गर्नुपर्ने भएकाले सदरमुकाम गाईघाट आसपासको ठाउँ उपयुक्त रहेको ठहर गर्दै निर्विवादरुपमा केही दिनमै स्थान तोक्ने जनाएको छ ।
मेडिकल कलेज खोल्ने सरकारको निर्णयदेखि नै चनाखो रहदै आएको जिल्ला समन्वय समिति उदयपुरले सम्भाब्यता अध्यायन कार्यदल टोलीलाई अवलोकन तथा भ्रमणका लागि सहयोग गरेको छ । त्यसक्रममा सबै हिसावले उदयपुरको सदरमुकाम गाईघाट आसपासमा कलेज खोल्न उपयुक्त अवस्था बारे टोलीलाई अवगत गराइएको जिल्ला समन्वयन समिति उदयपुरको प्रमुख खड्ग बहादुर परियारले बताए ।
उदयपुरमा रहदा खोटाङ, भोजपुर, धनकुटा, सोलु, ओखलढुंगा, सप्तरी, सिरहा, सिन्धुली, धनुषा गरी थप नौं जिल्लालाईसमेत पायक पर्ने र सडक सञ्जालका हिसावले पनि अति उपयुक्त रहेको त्रियुगा बहुमुखी क्याम्पस मोतिगडा उदयपुरको प्रमुख रमेश चन्द्र रोकाले बताए ।
त्रियुगा बहुमुखी क्याम्पस, थारुहट रंगशाला, निर्माणाधीन ठूलो क्षमताको मदन भण्डारी स्मृति सभाहल रहेको र एयरपोर्ट निर्माणको तयारीको अवस्था रहेको उदयपुरमा मेडिकल कलेज बन्नुको विशेष महत्व छ । निर्विबाद र निर्बिकल्पको रुपमा मेडिकलेज स्थापनामा सबै एकजुट हुनुपर्ने जिल्लाबासीको मागछ ।