
पूणर्पुष्टि, साउन २४
पर्सामा मेयर सहित ५५ जना कोरोना संक्रमित भएका छन् । नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्साका बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जनाएको छ
स्रोतका अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज-३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा छन् ।
चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया-१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए ।
यसैगरी वीरगञ्ज-१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय पुरुष र बाराको मनहर्वा घर भएका ४३ वर्षीया दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज-४ विर्ताकी २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
वीरगञ्ज-१० का ५० वर्षीय पुरुष र २२ वर्षीया युवतीमा कोरोना देखिएको छ । उनीहरु दुवै जनालाई ५र७ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो आएरै पीसीआर गराएका वीरगञ्ज-११ श्रीपुरका ६० वर्षीय पुरुष, वीरगञ्ज-११ फूलबारीटोलका ४७ वर्षीय पुरुष, वीरगञ्ज-७ रेशमकोठीका २२ वर्षीय पुरक्ष र वीरगञ्ज-१० आदर्शनगरका ५० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
ज्वरो र खोकी लागेर पीसीआर गराउन अस्पताल गएका वीरगञ्ज-१२ का ४९ वर्षीय, वीरगञ्ज सबैठवाकी ६५ वर्षीय वृद्धा र वीरगञ्ज- १६ नगवाका ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई तीन दिनदेखि कफसहितको ज्वरो आइरहेको थियो । वीरगञ्ज-१६ ब्रह्मचोक बसपार्कका टिबीका विरामी ३५ वर्षीय पुरुषलाई ज्वरो आएर कोरोना जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको छ ।
