Monday, February 17News That Matters

मेरो देशको हस्पिटल अनि जापानको…

मुकेश राई, हाल जापान

भरखरै भोटराज सरको एभिन्यूज रिपोर्टमा उदयपुर जिल्ला अस्पतालको दुरदशा हेरें । त्यसै नौनारी गलेर आयो । म यतिबेला जापानमा छु । भोली फर्केर म पनि त यही ठाँऊ (नेपाल) मा जाने हो । म पनि त बिरामी हुन्छु परिवारको सदस्य विरामी हुन्छन् साथी भाई बिरामी हुन्छन् । के म त्यो झन्झट र त्यो दशा भोग्न सक्छु किनकी एक प्रकारले मेरो  त्यो बानीहरु छुटी सकेको छ । अनि यहाँको बानीभित्र म लगभग रमाउन थाली सकेको छु । तरपनि मैले फर्कनु छ किनकी म हुर्केको समाज, साथी सँगी, मेरो भोगाईहरु, अनुभवहरु अझ भनौं मेरो ऊर्वर समय मैले त्यही ब्यतित गरें र म फेरि फर्केर आउँछु भन्ने मेरो मनोसङ्कल्प पनि थियो, छ ।

फेरि देस सम्झन्छु, अत्यास लागेर आउँछ । यहाँको भोगाईहरु त्यसैत्यसै मीठो ईर्ष्या लाग्छ । म  यहाँको सरकारी कार्यलय, हस्पिटल, सार्वजनिक ठाँऊहरु, बस र ट्रेनको यात्रा सबै ठाँऊमा केही पनि त्यस्तो सुधार गर्नूपर्ने  वा यस्तो नभएर यस्तो भए हुन्थ्यो भन्ने केही पनि देख्दिँन । सडकको पेटीपेटी बिहान बिहानै स्कूल हिडिरहेको जापानीज नानीहरुको अनुशासन र संस्कार देखेर हर्ष बिभोर हुन्छु । कति पटक यी नानीहरुको त्यो बानी देखेर थाहै नपाई मेरो आँखाका नानीहरु रसाँउछ आहा… यस्तो पो शिक्षा, यस्तो पो संस्कार, यस्तो पो अनुशासन, यस्तो पो बिद्यार्थी । मेरो पनि त नानीहरु हुन्छन् होला म फेरि यतीबेला सकसमा पर्छु । देस छिट्टै फर्कने मेरो निर्णयले कतै मैले मेरो भावी सन्तानको अवसरलाई बञ्चित गरेर ऊनको त्यो अधिकारलाई हनन् त गरिरहेको छैन ? किनकी यहाँको शिक्षा र नेपालको शिक्षाको तुलना गर्नै सकिँदैन । लाग्छ हाम्रो शिक्षाले हाम्रो समाजले,हाम्रो संस्कारले हाम्रा कलिला फूल जस्ता नानीहरुलाई हीनता, अपराध, असामाजिकता, अनैतिकता, बेमेल, तुच्छता सिकाउदैछ । यहाँ बिद्यार्थी मात्र होईन कसैले पनि नराम्रो र फोहोरी शब्द बोल्न र थाहा नै पाउदैन्न त्यसको सट्टा सम्मान र आदार्थी शब्दहरु धेरै हुन्छन् । यहाँ किताबी कोरा अक्षर कण्ठस्त होईन जीवन, समाजिकता, अनुशासन, सभ्यता, संस्कृति र मानवीयता र प्रकृति सिकाउँछ । यहाँ विद्यालय कर होईन रहर हो पढ्न होईन खेल्न जान्छन् । न होम वर्क,न त पास फेल नै तर पनि विद्यार्थीहरु यती ज्ञानी, अनुशासित । यहाँ पाठ पढाईन्दैन समाज, सभ्यता, संस्कृति मानवीयता सिकाईन्छ । भैगो के कुरा गरौं…

अँ, हस्पिटलको कुरा यहाँ हस्पिटलमा बसे जस्तो पनि लाग्दैन । लाग्छ कुनै हामी सुविधा सम्पन्न होटेलमा बसिरहेछौं । न कतै गन्ध छ न कतै फोहोरको अंश नै छ । कार्पेट बिच्छाएको छ । पस्न वितिकै काउन्टर हुन्छ त्याहाँ नाम दर्तादेखि डिटेल कुराहरु लेखाईन्छ र एउटा कार्ड बनाईन्छ । त्यो कार्ड सधैंको लागि हुन्छ पछि फेरि जानु पर्यो भने पनि त्यो कार्ड लिएर गएपछि तपाईको त्यसअघि सम्बन्धि सबै डिटेल त्यही कार्डबाट थाहा हुन्छ । काउन्टरको काम सकेपछि सोफामा गएर बस्ने वरीपरी गमलाहरु हुन्छ । अगाडी टी.भी. हुन्छ, एक्यूरियम, चिसो तातो पानी, जुस, चिया कही कही जुस, चिया फ्रिमा हुन्छ । जाडो महिनामा तातो ए.सी. गर्मीमा चिसो ए.सी. । अगाडी राखेको टि.भी.को स्क्रिनमा तपाईको नम्बर आउछ त्यो नम्बर आएपछि पालो आयो भनेर बुझ्नुपर्छ । यदी त्यो नम्बर तपाईले थाहा पाउनु भएन भने नामबाट बोलाईन्छ त्यहीका स्टाफहरु तपाईलाई खोज्दै आउँछन् ।लगभग हस्पिटलभित्रको बसाई सामान्य खालको बिरामीले ३०–४५ मिनेट बढीमा एक घण्टा जति हुन्छ । यदी फेरि फ्लोअप मा जानु पर्ने भो भने तपाईको आफ्नो समयमा यो दिन यति बजे आउँछु भनेर समय लिएर आउने र त्यो समयमा तपाई जानैपर्छ यदी जानु भएन भने तपाईलाई फोन गर्छ अस्पतालले किन नआको रु कस्तो छ रु आउन नसकेर नआएको की के कारणले नगएको हो रुत्यसको जानकारी गराउनु पर्छ । सामान्यत, यहाँको हस्पिटलमा बृद्धबृद्धा मात्र देख्न पाईन्छ । किशोरकिशोरी, यूवायूवतीहरु प्राय हस्पिटल भर्ना भएको देख्न सकिदैंन । यहाँको जीवनशैली, खानपान, वातावरण, सरसफाईले गर्दा सायद उमेर भएको मान्छेहरु त्यति बिरामी हुदैंनन् । र यहाँ स्वास्थ्य बिमा अनिबार्य जस्तो सबैले गर्नूपर्छ । त्यसबापत बिरामी हुँदा ८० प्रतिशत हस्पिटलले नै बेहोर्छ । त्यसो भएको हुनाले जो कसैले जुनसुकै खालको रोगको उपचार गर्न नसकेर कसैले मर्नू पर्दैन । नीजि क्लिनिक बिरलै मात्र देख्न पाईन्छ । हस्पिटल नजीकनजीक हुन्छ । बच्चाहरुको लागि छुट्टै, बृद्धबृद्धहरुको छुट्टै । बिशेष हस्पिटलहरु पनि हुन्छ । सबै ठाँऊ र सबै हस्पिटल बालबालिका, अपाङ्ग, अशक्त र बृद्धबृद्धामैत्री हुन्छन् । यहाँ बढी पावर खालको औषधीहरु नै प्रयोग गर्दैनन् । १५० एम जी, २०० एम जीको औषधीहरु प्रयोग गर्छन् तर हामी चाही ५०० र १००० एम जी को औषधी पचाएर आकोले होला प्रायलाई यहाँको औषधीले काम नै गर्दैन अनि कतिपय हामी नेपालीहरु नेपाल नै गएर उपचार गराऊने पनि हुन्छौं ।

कुनै समय मेरो देस नेपाल पनि भौतिक पूर्वाधारले अरु विकसित देसहरु जस्तै सुसम्पन्न  होला । देस विकसित र सम्पन्नशाली होला । सबै जनताले विश्वका जनताले जस्तै सुख, सुविधा उपभोग गर्न पाउलान तर त्यो भन्दा ठूलो कुरा र त्याहाँ पुग्नको लागि मानवीयता, हाम्रो चिन्तनशैली, हाम्रो जीवन भोगाई, हाम्रो संस्कार, सभ्यतालाई विकास गर्न सक्छौं की सक्दैनौं भन्ने कुरा मुख्य रहेछ । र त्यो भन्दा पनि मलाई लाग्ने र भतभती पोल्ने कुरा चाँही हामी सायद त्यस्तो सभ्य, सुसंस्कृत र त्यो अनुशासन कहिलै पनि भोग्न पाउने छैनौं जस्तो लाग्छ ।