
पूर्णपुष्टि, असार २६
अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि म्याग्दीमा १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।
गतरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा २ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ ।
त्यसैगरी धवलागिरी–६, मराङमा बाढी, पहिरोमा परेर १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मराङमा २०, विममा १० र ताकममा ५ घरधुरीमा क्षति भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर मृत्यु भएकाहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पु¥याएको छ । रघुगंगा खोलामा आएको बाढीले पुलमा पूर्ण क्षति पु¥याएपछि रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको सीधा यातायात सम्पर्कबिच्छेद भएको छ ।
रघुगंगा नदीमा अत्यधिक बहाव बढेकाले बेलिब्रिज नजिकै रहेको झोलुङ्गे पुल तथा आसपासका बस्तीहरु उच्च जोखिममा परेका छन् । त्यसैगरी अन्नपूर्ण–८, राम्चेको पुम्दीखोलाबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएको खानेपानीको ५ र ६ इन्चको जिआई पाइपमा पनि रघुगंगा नदीमा आएको बाढीले क्षति पु¥याएपछि बेनीबजारमा खानेपानी आपूर्ति बन्द भएको छ ।
