
पूणर्पुष्टि, कार्तिक १५
युरोपमा फेरी कोरोना कहर सुरु भएको छ । कोरोनाको सुरुवाती समयहरुमा भयावहको रुपमा देखा परेको युरोपियन देशहरुमा कोरोना संक्रमणको सँङख्या घट्दै गएको थियो । तर अहिले फेरी कोरोना संक्रमितको संख्याहरु बढ्दै गएको छ ।
फ्रान्स र जर्मनले नयाँ प्रतिबन्धहरुको फेरी घोषणा गरिसकेको छ । त्यसअनुसार, जर्मनीले पुनः लकडाउनतिर फर्कँदै आगामी सोमबारदेखि लागू हुने गरी रेष्टुरा तथा बारहरु बन्द गर्ने निणर्य गरेको छ । फ्रान्सले त बिहीबार रातिदेखि नै लागू हुने गरी मुलुकभरि नै लकडाउनको घोषणा गरेको छ । 
फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले मुलुकभरी बढ्दै गैरहेको संक्रमणका केसहरु र अस्पतालका सिमित क्षमताका बिच लकडाउनलाई फेरी लागु गर्नुको कुनै विकल्प नरहेको बताएका छन् ।
लकडाउनको घोषणासँगै अब फ्रान्समा सबै गैरजरुरी व्यवसायहरु बन्द रहनेछन् । त्यसमा रेष्टुरा, बारहरु समेत पर्नेछन् । त्यसैगरी घरबाहिरका हिँडडुल एवं गतिविधिहरुमा कडाइ गरिएको छ, व्यक्तिगत वा सार्वजनिक जमघटहरुमाथि प्रतिबन्ध लगाइएको छ ।

त्यसो त फ्रान्सका दुई तिहाई जनसंख्याले विगत दुईहप्तादेखि रातको ९ बजेपछि कर्फ्यू भोग्दै आएका छन् । त्यसका बाबजूद युरोपका अन्य मुलुकहरुमा जस्तै फ्रान्समा पनि कोरोनाको संक्रमण बढेर आएको छ । गत मंगलबार मात्रै फ्रान्समा कोरोनाकै कारण ५२७ जनाको मृत्यु भएको थियो । यो भनेको गत अप्रिल महिना यताकै सबैभन्दा बढी संख्या हो ।
उता जर्मनीका चान्सलर एन्जेला मर्केलले पनि बुधबार एक घोषणा गर्दै आगामी सोमबारदेखि लागू हुने गरी नयाँ प्रतिबन्धहरुको घोषणा गरेकी छन् । त्यसअनुसार, रेष्टुरा तथा बारहरु बन्द रहनेछन्, व्यवसायिक खेलहरु रित्तो रंगशालामा खेलाइनुपर्नेछन् तथा नाटकघर, व्यायामशाला तथा कस्मेटिक स्टुडियोहरु बन्द रहनेछन् ।
कोरोनाभाइरसकै महामारीका कारण पोर्तुगलमा बुधबारदेखि सामाजिक दूरीको सुनिश्चितता नहुने सार्वजनिक स्थानहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ । १० वर्षभन्दा माथि उमेरसमूहका लागि तोकिएको यो उपाय गत मंगलबार पोर्चुगलमा महामारी शुरुभएयता दोस्रो सबैभन्दा बढी संक्रमण देखापरेपछि लागू गरिएको हो । त्यसैगरी, अक्टोबर ३० देखि नोभेम्बर ३ सम्म नगरहरुबीचको आवातजावातमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

युरोपियन युनियनको हेडक्वार्टर समेत रहेको मुलकु बेल्जियम यतिखेर कोरोनाको भयानक चपेटमा परेको छ । तर उसले जनस्वास्थ्यको नियमहरुको कडाइका साथ पालनामा जोडदिँदै प्रायः सबै गतिविधिहरु खुला नै राखेको छ । उता चेक रिपब्लिकले भने बुधबारदेखि नै लागू हुने गरी राष्ट्रव्यापी कर्फ्यू लागू गरेको छ । त्यहाँ स्कुल, पसल तथा रेष्टुराहरु बन्द गरिएका छन् । सार्वजनिक स्थानहरुमा हिँडडुल गर्दा मास्कको प्रयोग अनिवार्य गरिएको छ
