
पूर्णपुष्टि, भदौ २५
रौतहटबाट विभिन्न प्रलोभनमा युवतीलाई भारत लैजाँदै गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरी चौकी नरकटियाको प्रहरी टोलीले परोहा नगरपालिका–७ बाट गतराति पक्राउ गरेको हो ।
बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक युवतीसहित सात जना भारततर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा शंका लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
फतुवा विजयपुर नगरपालिका–५ की यादव थरकी १८ वर्षकी युवतीसहित मौलापुर नगरपालिका–८ का २० वर्षका अनिल पटेल, २० वर्षकै दीपेन्द्र पटेल, वडा नम्बर ५ मौलापुरका १९ वर्षका अरविन्द ठाकुर, २० वर्षका धनञ्जय तिवारी, १७ वर्षका दीपेश यादव र २२ वर्षका रामबालक पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

