Monday, June 29News That Matters

यूएईबाट १४८ जना नेपाली आइपुग्यो

पूर्णपुष्टि, असार ५ गते ।

संयुक्त अरब एमिरेट्स यूएईबाट १ सय ४८ जना यात्रु लिएर नेपाल एअरलाइन्स नेपाल आइपुगेको छ । यूएईमा समस्यामा परेका नेपालीलाई लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज काठमाण्डौँ र्आइपुगेकोे हो ।

आज फर्किएका सबैजना दूतावासको फारम भरेर प्राथमिकतामा परेकाहरु हुन् । यसअघि यूएईबाट आएका १ सय ६८ जना दूतावासले तयार गरेको सूची भन्दा बाहिरकाहरु आएका थिए ।

फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । १० जना बिभिन्न रोगका कारण बिरामी र १० जना रोजगारदाता भागेपछि अलपत्र परेका श्रमिक र ३ जना ज्येष्ठ नागरिकसमेत रहेका छन् ।

गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् । फर्कने सबैजनाको विमानस्थलमा कोरोना जाँच गरिएको छ ।

गर्भवतीले तत्काल यात्रा गर्न नमिलेमा उनीहरुलाई काठमाण्डौमै व्यवस्था गरिएको आपतलकालीन क्वरेण्टीनमा राखिनेछ । तर होल्डिङ सेन्टरमा रहेको स्वास्थ्य यूनिटले यात्रा गर्न नमिल्ने अवस्थाको यकिन गर्नुपर्छ ।

जहाजमा एक जनाको शव पनि ल्याइएको छ । गत चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण मृत्यु भएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव ल्याइएको हो ।