Friday, May 22News That Matters

यूएई र कतारबाट ३ सय नेपाल आईपुगे

पूर्णपुष्टि, असार ७ गते । 

यूएईको आबुधाबी र कतारको दोहाबाट ३ सय नेपालीहरु काठमाण्डौ आइपुगेका छन् । यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको चार्टर्ड जहाज काठमाण्डौ आईपुगेको हो ।

यूएईबाट २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष नेपाल आएका छन् । नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् ।

यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिएको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको हो । आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् ।

यस्तै, कतारको दोहाबाट १ सय ४९ जना नेपाली नेपाल आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १ सय ४९ जना नेपाली नेपाल फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दोहाबाट सुत्केरी र गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसको समस्यामा परेका नेपाली स्वदेश फिर्ता गर्ने सरकारी निर्णय अनुसार दूतावासले चार्टर्ड उडानमार्फत प्राथमिकतामा परेकालाई नेपाल पठाएको जनाएको छ ।

आज बिहान साउदीको रियादबाट पनि २ सय ४६ जना नेपाली स्वदेश आइपुगेका छन् । आजै यूएईबाट थप २ उडानमार्फत नेपाली फर्कंदै छन् भने बहराइन, मलेसिया, बंगलादेश र बहराइनबाट पनि नेपाली स्वदेश फर्कंदैछन् ।