
पूर्णपुष्टि, वैशाख १२ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले भोलीदेखि सुरु हुने मुस्लिम समुदायको महान्पर्व रमजान देशको विषम् परिस्थितिका कारण घरमै मनाइदिन आव्हान गर्नुभएको छ ।
उदयपुरको भुल्केमा समाती समुहमा ठूलो संख्यामा कोरोना संक्रमण भेटिएकोप्रति सचेत गराउदै सामुहिकरुपमा नमनाउन आव्हान गर्नुभएको हो । मस्जिदमा नमाज नपढेर घरमै पढिदिन आव्हान् गर्दै उहाँले विरगंजबाट सुरु भएको संक्रमण, ठूलो रुपमा उदयपुरमा देखिएकाले सम्बेदनशिल भइदिन आग्रह गर्नुभयो । देशप्रति बफादार र इमान्दार मुस्लिम समुदायले विगत जस्तै यो पटक पनि देशलाई संकट परेको बेला सरकारलाई सहयोग गर्ने आशा उहाँले व्यक्त गर्नुभयो । सामुहिक ब्रतलाई पनि यसपटक सामुहिक नगरेर घरमै बसिदिन र छरछिमेककोमा नजान र नबोलाउन आग्रह गर्नुभयो । कोरोनाबाट बच्न एकमात्र उपाय सामाजिक दुरी र लकडाउनको पूर्ण पालना भएको बताउनुभयो ।
रोग कुनै जाती, समुदाय विशेष नहुने भएकाले मुस्लिमहरुले कोरोना फैलायो भन्ने अफवाह नफैलाउन र त्यस्ता कुराको पछि नपर्न सबैलाई आव्हान गर्नुभयो ।
मुस्लिम समुदाय देशप्रति बफादार र इमान्दार सदा रहने र अहिले यस कुरालाई थप पुष्टि गर्ने अवसर भएकोले सबैले आयोगको आव्हानलाई पालना गरिदिन आग्रह गर्नुभयो ।
