Monday, March 17News That Matters

रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम ७० प्रतिशत पूरा

पूर्णपुष्टि/खोटाङ, पुस १२ गते ।

पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजानको ७० प्रतिशत काम सकिएको छ । सुनकोसीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गर्न २०७२ साल चैत्र ११ गते उद्घाटन गरिएको आयोजानको हालसम्म ७० प्रतिशत काम पूरा भएको हो ।

नदी किनारमा मेसिन राख्ने पम्प हाउस निर्माण, पानी सङ्कलन ट्याङ्की, नदी र गाउँकोबीचमा दुई वटा आरभिटी ट्याङकी तथा सबैभन्दा माथि गाउँमा ३० हजार लिटरको आरसिसि ट्याङ्की निर्माण भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । गाउँमा पानी निकाल्ने प्रयास स्वरुप थालिएको आयोजनाको एक हजार २०० मिटर जिआई पाईप वेल्डिङ गरेर जडान गरिसकिएको छ ।

सुख्खाग्रस्त क्षेत्र मानिएको उक्त क्षेत्रमा पाईप अड्याउने १०० वटा पिलर पनि बनाइसकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि निर्माणस्थलमा पानी तान्ने तीन वटा मेसिन, २५ केभीका तीन वटा विद्युत ट्रान्सफर्मर, पोलिथिन पाईप लगायतका सामान ल्याइसकिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

निर्माण उपभोक्ता समितिका अनुसार अब नदीको किनारमा समवेल (इनार) निर्माण, विद्युतका १७ वटा पोल, ६०० मिटर जिआईपाईप, तार खरिद गरेर ल्याउन बाँकी छ । यसअघि छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका ११५ घरपरिवार अहिले घण्टौँ धाएर ल्याएको पानी पिउन बाध्य छन् ।

कालापानीका स्थानीय चुहार पँधेरा, मानेखोला पधेरा र खारखोला पधेराबाट दुई घण्टा टाढाबाट बोकेर ल्याएको खानेपानी उपभोग गर्न बाध्य छन् । वरपर भएका खानेपानीको मुहान सुकिसकेको र अन्य बैकल्पिक श्रोत नभएपछि कालापानीमा नदीको पानी तान्ने बिकल्प अघि सारिएको हो ।

उपभोक्ताको ३६ लाख बराबरको श्रमदान रहने आयोजना एक करोड ८० लाखको लागतमा पूरा हुने खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरेले बताउनुभयो । क्रमागत योजनाकारुपमा रेडबुकमा समाबेस आयोजनाको काम यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

गाउँ र नदीकोबीच तीन स्थानमा ट्यांकी निर्माण गरिने र विद्युतमार्फत पहिलो, दोश्रो हुँदै तेश्रो ट्यांकीमा नदीको पानी निकालिने जनाइएको छ । आयोजनाको सर्भेकाक्रममा दुई लाख रकम प्राप्त भएकामा आर्थिक वर्ष २०७१÷०७२ मा दश लाख र आर्थिक वर्ष २०७२÷०७२ मा दश लाख बजेट प्राप्त भएको थियो ।