Thursday, April 24News That Matters

राती बत्ति विनै कुदेर बालुवा तस्करी गर्ने दुई ट्याक्टर

गाईघाट, असार २३ गते ।

राज्यले खोला, नदीको दोहन रोक्न असार १ देखि नै गिटि, बालुवा, ढुङ्गा निकाल्न रोक लगाए पनि रातीराती बरुवाखोलाबाट गिटि, बालुवा चोरी तस्करी भईरहेको छ ।

रातको समयमा गाईघाटको साकेलाटोलभित्रको सहायक सडक प्रयोग गर्दै बरुवाखोलाको गिटि, बालुवा दोहान भईरहेको हो । रात परेपछि ट्याक्टरको बत्ती निभाएर तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् ।

यसरी तस्करी गर्नेमा स १ त ६७६८ र स १ त ६२५४ नम्बरको ट्याक्टर रहेका छन् । आईतबार राती साकेलाटोलका बासिन्दाले ती दुई ट्याक्टरलाई रोकेर तस्करी नगर्न चेतावनी दिएको स्थानीय विक्रम राईले बताए । यी बाहेक अन्य ट्याक्टरहरु पनि चोरी तस्करीमा रहेको हुनसक्ने स्थानीयले बताएका छन् । गिछि बालुवा चोरी तस्करी गैरकानूनी मात्र हैन, टोलको सडक प्रयोग गरी तस्करी गरिरहदा गाउँलेलाई राती हिड्डुल गर्दा दुर्घटनाको जोखिम बढेको छ भने ध्वनी प्रदुर्षणले सुन्त नसक्ने अवस्था भएको छ ।

स्थानीयले नगर प्रहरीलाई पटक पटक खबर गरेपनि तस्करी नरोकिएको स्थानीयले गुनासो गरेका छन् । प्रहरीसंगकै मिलेमतोमा केही ट्याक्टर व्यवसायीले तस्करी गर्ने गरेको विगतको अवस्था यसपटक पनि दोहोरिने होकी भन्ने स्थानीयलाई चिन्ता छ ।

नगर प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक हरि भण्डारीले प्रहरी निगरानी बढाउने बताए । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले चोरी तस्करी रोक्न कडाई गर्ने र त्यस्ता प्रयोग भएका ट्याक्टर र ब्यवसायीलाई कारवाहीका लागि पक्राउ गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले यस समय खोलादोहन कानूनीरुपमै प्रतिबन्ध लगाईएको बताए । काही चोरी, तस्करी भईरहेको देखिएमा तुरुन्त प्रहरी प्रमुख वा आफुलाई खबर गर्न आग्रह गर्दै त्यस्तालाई कारवाही हुने बताए ।