Sunday, June 28News That Matters

रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड

पूर्णपुष्टि, चैत ८ 

सरकारले रासायनिक मलको प्रयोगलाई घटानउ प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउने भएको छ ।

प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधारलगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

आगामी आर्थिक वर्षदेखि प्राङ्गारिक खेतीलाई जोड दिँदै कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । नेपालमा प्राङ्गारिक खेतीको सम्भावना भएकाले रासायनिक मलको प्रयोगलाई घटाउँदै जैविक खेतीतर्फ किसानको आकर्षण बढाउन लागेको मन्त्रालयले जनाएको छ ।

धान, गहुँ, मकैलगायत केही बालीलाई रासायनिक मलको आवश्यकता परे पनि तरकारी, फलफूल, चिया तथा कफी लगायतबालीमा प्राङ्गारिक मलको नै  प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ । प्राङ्गारिक खेती बढाउन नेपालमा भइरहेका प्राङ्गारिक मलको कारखानाको गुणस्तर र सेवा विस्तार गरिने छ । विशेषगरी चिया कफीको धेरै खेती हुने क्षेत्रमा प्राङ्गारिक कारखाना सञ्चालन गर्ने तयारी भएको छ ।

रासायनिक मलको बढ्दो प्रयोगले माटोमा हुनै पर्ने प्राङ्गारिक पदार्थको तहसमेत घट्न थालेको छ । त्यसैले बालीनालीको उत्पादकत्वमा समेत ह्रास आइरहेको छ । प्राङ्गारिक मलको प्रयोग बढे रासायनिक मलको प्रयोग पनि घट्ने र हरेक वर्ष हुने मल अभावको समस्या पनि समाधान हुने सरकारको विश्वास छ ।