
पूर्णपुष्टि, असार २९
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरो र डुबानबाट पीडित वा प्रभावितलाई दिइने क्षतिपूर्ति वा राहत रकम वृद्धि गर्न सरकारलाई निर्देशन दिएको छ । क्षतिपूर्तिमा आवश्यक पुनरावलोकन गरी गम्भीरताका आधारमा राहत रकममा वृद्धि गर्ने समितिले निर्देशन दिएको हो ।
पीडितलाई विभिन्न तहको समन्वयद्वारा एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउन पनि समितिले निर्देश गरिएको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य उपचार, औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन, सरुवा रोग तथा महामारी फैलिन नदिन, विपदको समयमा हुन सक्ने चोरी र महिला तथा बालबालिका हिंसा वा दुव्र्यवहार रोक्ने गरी सुरक्षा सर्तकता अपनाउन समितिले सरकारलाई निर्देश गरेको छ ।
राहत कोष र राहत तथा उद्धार सामग्रीको व्यवस्थासहितको संयन्त्र प्रत्येक स्थानीय तहमा निर्माण गर्न निर्देशन दिइएको छ ।
यसैगरी, राजमार्ग जोड्ने सडक, रेल मार्गमा निश्चित दुरीमा पानी निकासको व्यवस्था मिलाउन र सडक किनारमा नालाहरु अनिवार्य गर्न भनिएको छ ।
