
उदयपुर, जेष्ठ १७ गते ।
उदयपुर सदरमुकाम गाईघाटमा सुक्रबार आयोजित बृति परामर्श तथा रोजागर मेलामा ठाउँको ठाउँ २३ जनाले रोजगार पाएका छन् ।
सीप र क्षमता सुहाउदो उद्योग तथा व्यवसायमा रोजगार पाएपछि उनीहरु खुसी भएका छन् । “रोजगारको आसले मेला आउदा रोजगार पाईयो ।” खुसी व्यक्त गर्दै सबुरलाल चौधरीले भने “धेरै खुसी लागेको छ, अब भोलीदेखि नै काममा जान्छु ।”
मोवाईल नम्बरसमेत लेखेर मेलामा बेरोजगार सूचना फारम भरेका चौधरीले केहीबेरमै रोजगारदाताको फोन पाएर तुरुन्त सम्पर्कमा पगेका थिए । पाँच कक्षासम्म मात्र पढेकाले हेल्परका लागि रोजगारी फारम भर्नुभएका उहाँलाई गाईघाटस्थित त्रियुगा काष्ठ फर्निचर उद्योगले ठाउँको ठाउँ रोजगार दिएको हो । उद्योगका प्रोपाईटर कृष्ण शर्माले मेलास्थलमै छोटो अन्तरवार्ता लिएपछि रोजागर लिनुदिनु पक्का भएको हो । यही प्रक्रियाले अन्यले रोजगारी मेलैबाट प्राप्त गरेका छन् ।
नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार मेलाबाट ८ सय ९९ जनाले एकहप्ताभित्रमा रोजगारी पाउनसक्ने वातावरण तय भएको छ । नीजि क्षेत्र तथा प्रमानमन्त्री रोजगार कार्यक्रमसमेतलाई समेटेर उनीहरुलाई रोजगार प्रदान गर्ने कार्यमा नगरपालिका अगाडि बढ्ने उनले बताए । नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली”को नारालाई सार्थक बनाउन मेलाको आयोजना गरिएको र मेला युवा, विद्यार्थीहरुको विशेष उपस्थितिमा सफलरुपमा सम्पन्न भएको मेयर चौधरीले बताए ।
त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वािणज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीप परिषद अन्तर्गतको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा भएको मेलालाई अपेक्षा भन्दा बढि ५ हजारले अवलोकन गरेका थिए । जसमध्ये १ हजार ३ सय युवाहरुले बृत्ति परामर्श सेवा लिएका छन् भने ९ सयजनाले तत्काल रोजगारीको आव्हान गरेका छन् । त्यस्तै १ हजार २ सय युवाहरुले विभिन्न पेशाका तालिम लिने इच्छा व्यक्त गरेका छन् ।
जिल्ला होटल व्यवसायि संघ, व्यवसायिक तालिम प्रदायक संघ १ नं. प्रदेश र त्रियुगा नमुना माध्यामिक विद्यालयसमेतको सहयोगमा भएको मेलाको १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । मेलालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले समय अनुकुल र आवश्यकता अनुसारको मेला भएको बताए ।
प्रदेश सांसदहरु विमल कार्की, नारायण बुजा मगर, कला घले, अम्बिका थापा, सुनिता चौधरीले कार्यक्रमको प्रसंशा गरे । त्यस्तै उपमेयर देवीकुमारी चौधरी, उदयपुर वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का, गैर सरकारी संस्थाका केन्द्रिय सदस्य महेश्वरी राई, व्यवसायिक तालिम प्रदायक संघ प्रदेश नं. १ का अध्यक्ष कृष्ण साह, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, इन्स्योर परियोजनाका उपनिर्देशक दीपकबाबु अर्यालले कार्यक्रमको औचित्य प्रकास पारेका थिए ।
मेलामा सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष सम्पर्क, स्थानीय उत्पादनको प्रदर्शनी, स्वास्थ्य परिक्षण लगायत भएको थियो ।