Sunday, May 3News That Matters

रौतहटको चन्द्रपुरमा झडप, १० जना घाइते

पूर्णपुष्टि, असार २५

रौतहटको चन्द्रपुरमा दुई समूह बीच झडप भएको छ । जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका–८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो । झडपमा १० जना घाइते भएका छन्, भने केही घर र आठ वटा मोटरसाइकलमा आगजनी भएको छ ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् । उनीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । आठ वटा मोटरसाइकलमा आगजनी पनि भएको छ ।

झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।