उदयपुर, जेष्ठ १२ गते ।
उदयपुरको पहाडी पालिका रौतामाईको भुट्टारमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ ।
रौतामाई गाउँपालिकाको आयोजनामा भएको शिविरबाट दुर्गम गाँउका बासीन्दाहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य लाभ लिएका थिए ।
पालिकाको केन्द्रमा भएको शिविरबाट स्थानिय ८ सय ३५ जनाले स्वास्थ्य चेक जाँच गराएको थियो भने एक सय ३५ जना रोगीलाई थप उपचारका लागि रेफर गरिएको चिकित्सक टोलीले जनाएको छ ।
शिबिरमा स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नसा, जनरल मेडिसिन, जनरल सर्जरी, रेडियोलोजी तथा ल्याव टेष्ट सेवा प्रदान गरिएको थियो । महिलाहरुको पाठेघर (बच्चादानी) खस्ने रोगीको स्क्रीनिङ, रिङपेशरी तथा भीआइए सम्बन्धी जाँच र अन्य रोगहरुको समेत चेक जाँच तथा परामर्श र औषधि वितरण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
नेपाली काँग्रेसका पुर्वसभापति गिरिजाप्रसाद कोईराला फाउण्डेसन उदयपुरको समन्वय र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग रहेको पालिकाले जनाएको छ । शिविरमा पालिका भित्रका र छिमेकी पालिका लिम्चुङबुङ, ताप्लिको दुर्गम गाउँ वस्तिका सर्बसाधारणले समेत स्वास्थ्य जाँच जाँच गराएका पालिका अध्यक्ष खड्काले बताए ।
दुर्गम गाउँका महिलाहरुले आर्थिक, भौतिक समस्याका कारण वषैँदेखि रोग पालेर बस्न बाध्यता भएकाले स्थानिय सरकारले यस्ता सस्याको समाधान गर्नका लागि विशिविर संचालन गरेको पालिका अध्याक्ष खड्काले बताए ।
महिला चिकित्सक तथा कर्मचारीको राम्रो व्यवस्था मिलाइएकाले स्थानियबासीहरुले उत्साहजनक ढंगले स्वास्थ्य जाँच गराएको रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले बताईन् ।
पहाडी भुभाग भएकाले आर्थिक, भौतिक रुपमा सम्पन्नता र जन चेतनाको कमिले लाज मानेर रोगलाई ढाक छोप गरि रोग पालेर बस्ने समस्यालाई शिविरले केहि सहज बनााएको पालिका उपाध्यक्ष ज्यू ठकुरीले बताइन् । स्थानिय सरकारले स्थानियबासीको स्वास्थ्य प्रति सुधार ल्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको उपाध्यक्ष ज्यू ठकुरीले बताईन् ।