Friday, February 14News That Matters

रौतामाईमा पत्रकारीता तालिम

उदयपुर, बैशाख २३ गते ।

उदयपुरको रौतामाई गाउँपालिकामा ५ दिने आधारभुत पत्रकारीता तालिम शनिबार सम्पन्न भएको छ । पालिकाको केन्द्र भुट्टारमा संचालन भएको तालिम नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना र पालिकाको सहयोगमा भएको हो ।

तालिममा आठै वडाका २१ जनाको सहभागिता थियो । तालिमको प्रमुख प्रशिक्षकमा महासंघ शाखा उपाध्यक्ष भोटराज राई रहेका थिए भने वरिष्ठ पत्रकार कौशल चेम्जोङ, महासंघ शाखा अध्यक्ष भरत खड्का, प्रदेश सदस्य डिल्लिराम खतिवडा, पत्रकार गोपाल पोखरेल, पत्रकार ईश्वर बलम्पाकी मगरले समेत सहजिकरण गरेका थिए ।

“समृद्ध स्थानीय सरकार–एक वडा एक पत्रकार” भन्ने नाराका साथ आयोजित तालिममा पत्रकारिताको परिचय, परिभाषा र आधारभूत सीप र ज्ञानको बारेमा सिकाइएको थियो ।

पालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले समापन समारोहमा तालिमका सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । अध्यक्ष खड्काले कार्यक्रममा बोल्दै पालिकामा भईरहेका गतिविधिहरुलाई जनता सामु जस्ताको तस्तै ल्याई गलत काम प्रति सचेत गराउन र सहि कामको प्रोत्साहन गर्न आग्रह गरेका थिए । सुचनाको हकमा दिन मिल्ने सम्म सुचना कन्जुसाई नगरी उपलब्ध गराउने र आफ्नै पालिकामा पत्रकार जन्मिएकाले समृद्ध पालिका बनाउन अभियानमा टेवा पुग्ने आशा लिएको बताए ।

तालिमको उद्घाटन पालिका उपाध्यक्ष कुमारी राना ज्यू ठकुरीले गरेकी थिइन् । उपाध्यक्ष ठकुरीले पालिकाको विकास र समृद्धिको लागि पत्रकारहरुको ठूलो भूमिका रहेको भन्दै सबैले त्यसतर्फ कलम चलाईदिन आग्रह गरिन् |