
पूर्णपुष्टि, चैत २८ ।
लकडाउनको क्रममा खाद्यन्न अभाव भएका विपन्न बर्गलाई त्रियुगा माध्यामिक विद्यालयका २०५५ साले एसएलसी ब्याजी ग्रुपको तर्फबाट पनि सहयोग प्रदान भएको छ । ग्रुपको तर्फबाट त्रियुगा नगरपालिका ९ गैरुनका विपन्न बर्गहरुलाई खाद्यन्न संकट टार्न सहयोग पुगोस् भन्ने हेतुले आज २० हजार रुपैया सहयोग गरेको हो । ग्रुपको नेतृत्व गर्दै सुनिल पोखरेलले वडाध्यक्ष धनबहादुर दनुवारलाई चेक हस्तान्तरण गरे । ब्याजी अन्तर्गतका विभिन्न साथीहरुबाट संकलन भएको आर्थिक रकमबाट सहयोग गरिएको ब्याजीका सदस्य राजेन्द्र अधिकारीले बताउनुभयो । गैरुनमा विपन्न वर्गहरुको बस्ती रहेकाले उनीहरुलाई लक्षित गरी सहयोग गरिएको र आजै वडाले खाद्यन्नको व्यवस्था मिलाई खाद्यन्न वितरण गरेको व्याजीका अर्का सदस्य उद्धव अधिकारीले बताउनुभयो । वितरण कार्यक्रममा ०५५ एसएलसी व्याजीका विन्दा काप्mले पराजुली, विनिता चौधरी र भोटराज राईको पनि उपस्थिति थियो । ग्रुपले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ । यस्ता विपन्न बर्गको सहयोगका लागि व्याजीहरुको तर्फबाट संकलन भएका अन्य रकमलाई पनि यसरी नै विपन्न वर्गका लागि सहयोग प्रदान गरिने जनाइएको छ । वडाध्यक्ष दनुवारले यो विपद्को अवस्थामा पूर्व विद्यार्थीहरुको तर्फबाट भएको सहयोग उदाहरणीय र प्रशंसनीय भएको भन्दै धन्यवाद ज्ञापन गरे ।
विपन्नबर्गहरुलाई गैरुनस्थित विद्यालय नजिकैको बरपीपलचौकमा सामाजिक दुरी कायमका साथ जम्मा गरी राहत वितरण गरिएको थियो । ०५५ ब्याजीको सहयोग रकमसमेत जोडेर वडाले खाद्यन्न वितरण योजना अन्तर्गत राहत प्याकेज वितरण गरेको थियो ।
प्रतिघर १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधालिटर तेलको खाद्यन्न प्याकेज वितरण गरिएको थियो । उक्त ठाउँमा करिब ५० परिवारलाई खाद्यन्न वितरण गरिएको थियो । खाद्यन्न वितरणलाई सामाजिक दुरी कायम गर्न गोलो चिन्ह लगाई लाइनलाई व्यवस्थित पारिएको थियो । खाद्यन्न सामग्री सिधै हस्तान्तरणको सट्टा अध्यक्षले टेबुलमा राखिदिएका थिए भने राहत पाउनेले उठाएर लगेका थिए । वरुमा राहत वितरण अव्यवस्थित भईरहेको सन्दर्भमा उक्त ठाउँमा नमुना ढंगले ब्यवस्थापन गरी वितरण गरिएको थियो । वडाले आजै वडाको अन्य ठाउँमा गरी करिब एकसय परिवारलाई खाद्यन्न वितरण गरेको वडाध्यउक्ष दनुवारले बताउनुभयो ।
६ सय घरपरिवार विपन्न रहेको आकलन गरेको वडाले हिजो १ सय ७० घरलाई खाद्यन्न वितरण गरेको जनाएको छ । बाँकी घर परिवारलाई भोली पनि वितरण गरिने जनाइएको छ ।
कारोना भाइरसको संक्रमण फैलन नदिन देशमा लकडाउन छ । दुईपटक लकडाउनको अवधी थपिएर बैसाख ३ गतेसम्म लकडाउन सरकारले घोषणा गरेको छ । लकडाउनको क्रममा विपन्न वर्गहरुमा खाद्यन्नको अभाव परेको छ । यस अवस्थामा विपन्न वर्गमा खाद्यन्न संकट नपराेस् भनेर स्थानीय सरकार लागी परेकाे छ भने सहयाेगी हातहरू पनि सामाजिक सहयाेगसहित अग्रसर भइरहेकाे छ ।
खाद्यन्न वितरणका तस्विरहरू :

