
गााईघाट, असार २१ गते ।
यहाँका ६ वटा टोलका बासिन्दाहरुले लागू औषध दुब्र्यसन विरुद्धको पहिलो कदममा बालबालिकालाई चुरोट, रक्सि किन्न आफु पनि नपठाउने र अरुलाई पनि पठाउन नदिने निर्णय गरेका छन् । अभिभावकहरुलाई बालबालिकाको अगाडी सेवन गर्न नहुने जनचेतनासमेत फैलाउने निर्णय गरेका छन् ।
साकेलाथान र ढिम्की मन्दीरसम्मको क्षेत्रमा लागू औषध र विकृतिजन्य गतिविधिहरु हुने गरेको पाइएकाले नियन्त्रणका लागि निगरानी पनि बढाइने निर्णय भएको छ । त्यस क्षेत्रमा बृक्षरोपण र बरुवाखोलाको बाँध रहेकाले दुब्र्यसन समुहहरु बढि आउने गरेको टोलबासीको भनाई छ ।
त्रियुगा नगरपालिका–११ अन्तर्गतका साकेला टोल विकास संस्था, शिबालय टोल विकास संस्था, मिलिजुली टोल विकास संस्था, इन्द्रेश्वर टोल विकास संस्था, बरुवाटार टोल विकास संस्था र लक्ष्मीमार्ग टोल विकास संस्थाले लागू औषध दुब्र्यसन रोक्न सामुहिक प्रयास सुरु गरेका हुन् ।
शनिबार साकेलाथानमा वडा सदस्य तारा राई, सकुन्तला वि.क.समेतको उपस्थितिमा, ६ वटै टोलका बासिन्दा र समितिका पदाधिकारीको भेलाले टोल र आसपासका क्षेत्रमा हुने लागूऔषध दुब्र्यसन र विकृतिजन्य गतिविधिहरुलाई नरोकेसम्म सभ्य र विकसित टोल हुन नसक्ने निस्कर्ष निकालेका थिए ।
भेलाले समाज सुधारको मुख्य उद्देश्य लिदै लागू औषध दुब्र्यसन र सामाजिक विकृतिलाई न्यूनिकरण गर्न सामाजिक सुधार समिति गठन भएको छ । सबै समितिका पदाधिकारी र टोलबासी युवा, महिला, अभिभावक, पत्रकार, नागरिक समाज, बुद्धिजिबि समेटिनेगरी २५ सदस्यीय समिति बनेको हो । केशरसिंह खड्काको अध्यक्षतामा बनेको समितिमा उपाध्यक्षहरु नरेश ढकाल, तारा श्रेष्ठ, रामकुमार चौधरी, मिगेन्द्र राई, विनोद पौडेल र सचिवमा सरोज राई रहेका छन् । त्यस्तै नागरिक समाज, बुद्धिजिवी, पत्रकार, वकिल सम्मिलित सात सदस्यीय सल्लाहकार समिति पनि निर्माण भएको छ ।
शिबालय टोल सुधार समितिको समेत संलग्नतामा गाउँटोल र आसपासमा हुने लागू औषध दुब्र्यसन तथा अन्य विकृति, विसंगतीको विरुद्ध सबै टोलबासी एकजुट हुने निर्णय भएको अध्यक्ष केशरसिंह खड्काले बताए । अव हरेक टोल अन्तर्गत सात सदस्यीय निगरानी समुहसमेत गठन गरी निगरानी बढाइने उनले बताए । न्यूनिकरणका गतिविधिहरुमा प्रहरीसंग समन्वय गरिने र बेलाबेलामा जनचेतनामुलक कार्यक्रमहरु पनि गरिने अध्यक्ष खड्काले बताए ।
समाजलाई सुधार गर्ने पहिलो खुड्किलो समाजकै सदस्यहरु भएकाले यस्तो प्रयासले सार्थकता पाउने आशा रहेको समितिका सचिव सरोज राईले बताए ।