उदयपुर, कात्तिक २९ गते ।
उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षिय बालिका एल्जिना खड्काको बलात्कार गरी हत्यामा संलग्न दुईजनालाई प्रहरीले बिहिबार सार्बजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको छ दिनपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनामा संलग्न व्यक्तिहरुसहित घटनाको बारेमा सार्बजनिक गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार घटनाको अनुसन्धान तथा लासको पोष्र्टमार्टमबाट बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ । जघन्य घटना घटाउने गाउँकै १५ वर्षिय र १८ वर्षिय किशोर रहेको प्रहरीले जनाएको छ । बलात्कार हत्यामा संलग्न रहेकाहरु बालक रहेकाले प्रहरीले नाम भने सार्बजनिक गरेको छैन । हत्यामा संलग्न दुईमध्ये एकजना गाउँकै विद्यालयमा संगै पढ्ने साथी हुन् ।
अनुसन्धानबाट उनीहरुकै संलग्नता एकिन भएको र मृतकका बुवाले दुबैको नाममा किटानी जाहेरी दिएकाले उनीहरुलाई हिरासतमा राखी कानूनी कारवाहीका लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
गत कात्तिक २४ गते शनिबार घरनजिकैको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बलात्कार हत्या भएको थियो । शनिबार साँझसम्म एल्जिना नफर्केपछि परिवार र गाउँलेले रातभर खोजी गरेका थिए । तरपनि फेला नपरेपछि भोलीपल्ट विहानैदेखि गाउँभरीकाले खोजी गर्दा दिउसोतिर जंगलको घारीमा मृतअवस्थामा उनको शब फेला परेको थियो ।
स्थानीयको खबर पाएपछि जिल्ला प्रहरीबाट डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा गएको प्रहरीटोलीले व्यापक अनुसन्धानका साथ घटनास्थल सुरक्षित घेरामा राखेर भोलीपल्ट सोमबार प्रकृति मुचुल्का उठाएको थियो । सोमबार प्रदेश प्रहरी धरानबाट झिकाइएको तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान भएको थियो ।
अनुसन्धानका साथ प्रकृति मुचुल्का उठाएको प्रहरीले मृतकको लाससहित संकास्पद पाँचजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरीमा ल्याएको थियो । सोही रात थप एकजनालाई नियन्त्रणमा लिई नियन्त्रणमा रहेको ६ जनासंग बयान तथा सोधपुछ गरेको थियो ।
बयान, सोधपुछ तथा अनुसन्धानबाट चारजना निर्दोष देखिएपछि छाडेको थियो भने दुईजना घटनामा संलग्न रहेको पुष्टिका साथ कारवाही अगाडी बढाएको हो । मृतकको शब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमको रिपोर्ट बुधबार जिल्ला प्रहरी उदयपुरमा आइपुगेको थियो ।
सबैखाले प्रमाणहरु जुटेपछि जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी घटना र घटनामा संलग्न व्यक्तीहरु सार्बजनिक गरेको थियो । देशैभर बढ्दो बालिका बलात्कार हत्या घटनालाई मध्ये नजर गर्दै संवेदनशीलताका साथ तिब्र र गहिरो अनुसन्धानबाट घटनाका दोषी छिटै पक्राउ गर्न सकिएको जिल्ला प्रहरी प्रमुख एसपी राईले बताए । उनले अभिभावकहरुलाई यस्ता घटनाप्रति सचेत रहन र छोरीचेलीहरुलाई असुरक्षित ढंगले हिडडुल गर्न र रहन नदिन आग्रह गरेका छन् । मृतकको परिवारले दोषीलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।
सार्बजकि कार्यक्रमको भिडियो पुरा हेर्नुहोस्