Monday, February 17News That Matters

लाहुरेनीको “ लाहुरेनी फुल”

उदयपुर, पुस १७ गते ।

नेपाली समाजमा लाहुरेनी भनेपछि यस, आराम, सौखिन र सुखैसुखमा मात्र भुल्ने गर्छ भन्ने सोचलाई परिवर्तन गराउदै एक लाहुरेनी नेपाली चेलीको कृति आएको छ । लाहुरेनी नेपाली चेली अर्थात गीतकार, सगीकार तथा साहित्यकार सुष्मा रुपाबुङ राईको लोकप्रीय कृति उपन्यास “लाहुरेनी फुल” हामीबीच आएको हो ।

काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा आइतवार (पुष १५ गते) विमोचन भएको उपन्यासले समाजभित्रको यथार्थ घटनालाई उतारिएको छ । अतिथिहरु विशिष्ट कवी तथा साहित्यकार श्रवण मुकारुङ, कवी तथा पत्रकार प्रकाश गुरागाई र नायिका सिर्जना सुब्बा द्वारा संयुक्त रुपमा उपन्यास “लाहुरेनी फुल” विमोचन गरिएको हो ।

सामाजिक तथा सबैखाले विकृति विसंगतीको विरुद्धमा सशक्तरुपमा कलम चलाउदै आउनुभएकीे साहित्यकार रुपाबुङको “लाहुरेनी फुल” पहिलो प्रकाशित उपन्यास कृति हो । उहाँले थुप्रै किसिमका कविता, लेख, रचना, गितसमेत लेखिसक्नु भएको छ भने मोडलिङ समेत गर्नुभएको छ ।

लाहुरे संस्कृतिवारे लेखिएको उपन्यासमा सरल शब्द संयोजन र शैलीले पाठकको मन छुने कवि मुकारुङले बताउनुभयो । उपन्यासमा नयाँपनको आभाष पाइने कवि गुरागाईले बताउनुभयो । नेपाली समाजमा लाहुरेको वास्तविक अवस्था उपन्यासमा झल्कने साथै मन परेकाले एकै बसाईमा आफुले पढी सकेको अभिनेत्री सिर्जना सुब्बाले बताउनुभयो ।

लाहुरे संस्कुती र त्यसको प्रभाव लेख्ने कोसिस गरेको वताउदै साहित्यकार रुपाबुङले साहित्यकारले परिकल्पनाभित्र सुनौलो संसार बसाउन सक्ने बताउनुभयो । साहित्य सृजनामा सधै हौसला दिइरहने श्रीमान , घरपरिवार साथै शुभेच्छुकहरुको सहयोगले “लाहुरेनी फुल” फुलाउन सफल भएको उहाँले बताउनुभयो । फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास विमोचन कार्यक्रममा कवि तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।