Monday, February 17News That Matters

लिम्चुङबुङमा सुक्खाले जनजीवन अस्तब्यस्त

उदयपुर, असार २१ गते

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा अहिलेसम्मकै सबै भन्दा ठूलो सुक्खा परेको छ ।  पालिकामा असार महिना सकिन लाग्दासम्म पनि एक थोप वर्षात भएको छैन ।

पालिकाको पाँचै वडामा सुक्खा लागेको हो । मुख्यगरी मकै बाली नष्ट भएको छ । ५ नं. वडाको माथिल्लो भेगमा मकै बाली केही हरियोपन देखिएपनि तल्लोभेग र बाँकी सबै वडाका मकै बाली मर्न थालेको लिम्चुङ्बुङ गाउँपालिका – १ का वडाध्यक्ष भिमबहादुर राईले बताए ।

सुक्खाकै कारण मकैको बोट बढ्न नपाई सुकेपछि फल लाग्ने आशापनि हराएको छ । बनपाखाको बोटविरुवापनि सुक्न थालेका छन् । खेत बारीका बाँसका भ्mयाङ र डाले घाँसका बोटहरु पनि सुक्न थालेको राईले बताए ।

गाउँ नजिकका खोला खोल्सीका पानी पनि सबै सुकेका छन् । घण्टौं धाएर पानीको जोहो गर्नु पर्ने बाध्यात आएको स्थानियहरुले बताएका छन् ।

पानीका स्रोतहरु नै सुक्न थालेपछि पानी र हरियो घाँसको अभावले पशुपालन पनि प्रभावित बनेको छ । कृषकहरुलाई आगामीवर्ष अनिकाल पर्ने चिन्तात छनै, सिस्नोको जराबुटा समेत खान नपाउने चिन्ता छाएको छ । जनतालाई कसरी बचाउने भन्ने चिन्ता जनप्रतिनिधिहरुलाई परेको वडाध्यक्षहरुले बताएका छन् ।

गतवर्ष नै सुक्खा क्षेत्र घोषणा भएको थियो । सुक्खा क्षेत्र घोषणा पश्चात सो पालिका र आसपासका क्षेत्रलाई समेटेर सुनकासीबाट लिप्mटिङ खानेपानी आयोजनाको सुरुवात गरिएको छ । उक्त योजनालाई सम्पन्न गर्नेमा सरकारले तिब्रता दिनुपर्ने देखिन्छ ।

लिम्चुङबुङ मात्र नभई पहाडी पालिकाहरु रौतामाई, उदयपुरगढी र ताप्लीमा पनि उत्तिकै सुख्खा लागेर जनजीवन प्रभावित बनेको छ ।