
उदयपुर, साउन ९ गते ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई आज विराटनगरदेखि हेलिकेप्टरमा राहत लिएर उडेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न लिएर अध्यक्ष राई १२ : ४० बजेमा पालिकातर्फ उडेका हुन् ।
अध्यक्ष राईका अनुसार सेनाको हेलिकेप्टरले राहत ढुवानी गरेको हो । उदयपुरका दुई दुर्गम पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई प्रदेश सरकारले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ । लिम्चुङबुङका लागि ७ सय क्विन्टल र ताप्लीका लागि ६ सय क्विन्टल चामल उपलब्ध गराएको छ । दाल, नुन र तेल पनि उपलब्ध गराएको छ ।
एकपटकमा २५ क्विन्टल चामल बोक्ने हेलिकेप्टरले आज दुईपटक लिम्चुङबुङ र दुईपटक ताप्लीमा ओसार्ने बताइएको छ । प्राप्त राहतलाई पालिकाले पिडितलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ ।