Monday, February 17News That Matters

लिम्चुङबुङ गाउपालिकामा खडेरी, किसान मारमा

नमिका राई/प्रशिक्षार्थी पत्रकार

बाँस्बोटे (बुत्कु), जेठ ३१ 

गतसाल सुख्खा क्षेत्र घोषणा भएको लिम्चुङबुङ गाउँ पालिकामा खडेरिका कारण मकै सुख्न थालेपछी किसानहरु चिन्तित भएका छन् ।

पुर्वको कर्णाली भनी चिनिने लिम्चुङबुङका सबै वडा बाँस्बोटे, बाहारा, ताम्लिछा, बलम्ता र जाँते खडेरीले सुख्खा लागेको छ । सुख्खा लाग्दा यतिबेला मकै बाली सुख्न लागेको छ । आकाशे पानी पर्ला कि भनेर आशामा रहेका स्थानियहरुले लामो समय पानी नपरेपछी मकै मर्न थालेसंगै  चिन्तामा परेको कृषक कृष्ण निरौलाले बताए । स्थानीयका अनुसार ४० बर्षपछि अत्ति सुक्खा अवस्थाको प्रकृतिक बिपत्तिमा परेका हुन् ।

 

लिम्चुङ्बुङमा बेंशिमा जनसंख्या बढी रहेको छ र खडेरिको मार पनि बेंशी मै बढी परेको छ । लेकका मुख्य बाली मकै आलु हो भने बेंशिको मकै र कोदो हो । यसपटकका सबै बाली खडेरीका कारण प्रभावित हुने कृषक दलबहादुर राईले बताए । अन्नबाली उत्पादनमा कमी हुने संकेत देखिएपछि थप कृषकहरु चिन्तित छन् ।

पानी पर्दा पनि लिम्चुङबुङका धेरै किसानहरुलाई खान नपुग्ने र मकै अझ महंगो हुने र खाद्यान्न अन्यत्रबाट ल्याउनु पर्ने अवस्था देखिएको कृषक मनोज बुढाथोकीले बताए ।

सुक्खा क्षेत्रमा लगाईने खेती अझै पनि परम्परागत नै रहेकाले आधुनिक किसिमको खेती भित्राउन आवश्यक रहेको बुद्धिजिविहरु बताउछन् । स्थानीय पृथ्वी  बहादुर राईले खडेरीले मकैबाली सुक्दै गएसंगै खानेपानीको मुहानहरु पनि सुक्दै गएको बताउनुभयो । यसले पालिकाबासीलाई झनै समस्या पारेको उनले बताए ।

पालिकाका कृषि शाखाका गगन राईले पालिकाभरी नै सुक्खाको प्रकोप देखिएको बताए । उनले मकै लगायतका बाली सुक्दै गएको बताए ।