
उदयपुर, असार १३ गते ।
स्थानीय सरकार लिम्चुङबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को निम्ति ल्याएको बजेट तथा निती, कार्यक्रमलाई नेपाल कम्यूनिष्ट पार्टी लिम्चुङबुङले स्वागत गर्दै प्रभावकारी कार्यन्वयनमा जोड दिन सुझाव दिएको छ ।
नेकपा, उदयपुरका अध्यक्ष विनोद कटुवालको विशेष उपस्थितिमा पालिकाका पाँचै वडाका पार्टी नेतृत्व, नेता तथा कार्यकर्ताको विशेष भेलाले बिहिबार बजेट, नीति, कार्यक्रमको स्वागत गर्दै यस्तो सुझाव राखेको हो ।
पालिकाको समृद्धि र विकासमा ध्यान दिदै जनताको आवश्यकताको आधारमा बजेट, नीति तथा कार्यक्रम आएको भन्दै उनीहरुले बजेट, निती, कार्यक्रमहरु राम्रो भएर मात्र नहुने, प्रभावकारी कार्यन्वयनमा जोड दिनुपर्ने सुझाएका हुन् ।
पालिका अध्यक्ष मेजरकुमार राईका अनुसार आ.ब. २०७६/०७७ का लागि २७ करोड ३२ लाखको बजेट आएको छ ।

यसैबीच पार्टीको जिल्ला नेतृत्व सम्हालेकोमा लिम्चुङबुङका नेता तथा कार्यकर्ताहरुले नेकपा पार्टी उदयपुर अध्यक्ष कटुवाललाई भब्य स्वागत गरेका छन् । उनलाई पालिका अध्यक्ष राई लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले खादा, फुलमाला अबिर लगाई स्वागत गरेका हुन् । सफल कार्यकालको शुभकामना समेत दिदै लिम्चुङबुङको विकास र समृद्धिमा विशेष सहयोग गर्न अध्यक्ष कटुवाललाई आग्रह गरेका थिए ।