Monday, February 17News That Matters

लिम्चुङबुङ महोत्सवले पालिका उत्साहित

उदयपुर, बैशाख ८ गते ।

लिम्चुङबुङ गाउँपालिका बाराहाको  सहयोग तथा एभरेस्ट पर्यटन भ्युटप  विकास समितिको आयोजनामा पहिचानको लागि संस्कृति, विकासका लागि पर्यटन भन्ने मुल नाराका साथ  बैसाख १ देखि ५ गतेसम्म सन्चालन भएको सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव –२०७६ भब्यरुपले सम्पन्न भएको छ ।

पालिकाले एक विज्ञप्ती जारी गर्दै महोत्सवले लिम्चुङबुङभित्रका सबै जातजाती, भाषा र संस्कृतिको विकास र उन्नयनमा ऐतिहासिक जागरण पैदा गर्दै  बिबिधताका बीच गहिरो भावनात्मक एकता निर्माण गर्न  सहयोग पुर्याएको जनाएको छ । त्यहाँको भूगोलमै पहिलो पटक एकै ठाउँमा सबै स्थानीय  जात, जातिका सांस्कृतिक नाच तथा झाँकिहरु प्रस्तुत गर्न पाउँदा आम लिम्चुङबुङबासीमा गौरव र अपनत्वको अनुभुत भएको र महोत्सवले देशैभरी बिबिध पहिचान र संस्कृतिको समतामूलक विकास र प्रवर्द्धनले नै दिगो शान्ति र मजबुत एकता संभव छ भन्ने सन्देश प्रवाह गरेको जनाइएको छ ।

महोत्सवले लिम्चुङबुङको व्यापक प्रचार प्रसार हुनुका साथै पर्यटकिय संभावनाको उजागरसमेत गरेको छ । एभरेस्ट भ्युटपमा पुग्ने हरेक ब्यक्ति वरिपरिको  सुन्दरता र त्यहाँबाट देखिने मनोरम दृश्यबाट प्रभावित भएको जनाइएको छ ।

गायक धिरज राईले उक्त ठाउँमा भ्यूटावर बन्न सके फ्रान्सको आईफिल टावर जस्तो  विश्व प्रसिद्ध हुनसक्ने संभावना बोकेकाले यो टावर लिम्चुङबुङको लागि मात्र नभएर देशकै लागि समेत महत्वपूर्ण हुने बताउनुभयो ।

महोत्सवले एक साथ कला, संस्कृती, भाषा, साहित्य, भेषभूषा, खेलकुद र स्थानीय उत्पादनको विकास र प्रबर्द्धनमा ठुलो सघाउ पुर्याएको छ । महोत्सवको अवधिभर रसुवा, सोलुखुम्बु, संखुवासभा, झापा, मोरङ र काठमान्डौंकासमेत बीस हजारको हाराहारीले अबलोकन गरेका थिए भने जिल्ला तथा लिम्चुङबुङ गाउँपालिकाबासीको व्यापक सहभागीता र सक्रियता रहेको थियो ।

भौतिक पुर्वाधार र ठुला संरचना निर्माणसँगै मानवीय जीवनका महत्वपूर्ण पाटा भाषा, संस्कृति, भेषभुषा, कला र साहित्य अनि खेलकुद  जस्ता बिषयलाई पनि सगैं डोहोर्याए मात्र विकास र समृद्धि पूर्ण हुन्छ भन्ने अभिप्रायले  महोत्सव आयोजना गरिएको थियो ।

आगामी दिनमा  महोत्सवबाट अझ धेरै पाठहरु सिक्दै र  थप नयाँ पर्यटकीय स्थलको पहिचान अनि विकास गर्दै होमस्टे मार्फत पर्यटकलाई टोलटोल र घरघरमा पुर्याएर  स्थानीय उत्पादनको प्रवर्द्धन तथा  जनताको आय आर्जन वृद्धि गर्ने पालिकाको लक्ष रहेको छ ।

महोत्सवलाई भब्यताका साथ सम्पन्न गराउन सहयोग गर्ने प्रदेश सांसद  नारायण बुर्जा मगर, सबै राजनीति दलका नेता,  छिमेकी पालिकाहरु,  वरिष्ठ कलाकार, पर्यटन परिकल्पनाकार बिक्रम श्री, राष्ट्रिय तथा स्थानीय कलाकार, साहित्यकार,खेलाडी, पत्रकार लगायत सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।

समृद्ध लिम्चुङबुङ निर्माणको यो महाअभियानमा सबै एकताबद्ध भई लाग्न पनि सबैलाई अपिल गरिएको

छ ।