
पूर्णपुष्टि, जेड २९ गते ।
भारतले अतिक्रमण गरेको नेपाली भुभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्न सरकारले डा. विष्णुराज उप्रेतीको नेतृत्वमा विज्ञ समुह गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले उप्रेतीको नेतृत्वका ९ सदस्यीय विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
विज्ञ समूहमा सूर्यप्रसाद सुवेदी, रमेश ढुंगेल, विपिन अधिकारी, जगत भूसाल, तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईँ र रामप्रसाद सुवेदी सदस्य छन् ।
जेठ ५ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।
नेपालले भारतसँगको अतिक्रमण विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको देखिन्छ । त्यसैका लागि सरकारले प्रमाण संकलन गर्न समिति विज्ञ समूह गठन गरेको हो ।
माओवादी ‘जनयुद्ध’ का बेला द्वन्द्वविद्को परिचय बनाएका डा. उप्रेतीले दोलखा जिल्लालाई आधार बनाएर सिँचाइ, गुठी जग्गा, पानी र वनसँग सम्बन्धित द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।
उप्रेतीले सन् २००१ मा ‘कन्फ्लिक्ट म्यानेजमेन्ट इन नेचुरल रिसोर्सेसः अ स्टडी अफ ल्याण्ड, वाटर एण्ड फरेस्ट कन्फिल्क्ट इन नेपाल’ शीर्षकमा शोध गरेका थिए ।
सरकारले उनलाई गत फागुनमा नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष नियुक्ति भएका थिए ।
सात बुँदे कार्यादेश
विज्ञ समूहलाई सार्वजनिक निकायलगायत विभिन्न संघरसंस्था, व्यक्ति र स्वेदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय, एवं संग्राहलयबाट नेपाल(भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाबी, गुञ्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने गरी कागजपत्रको सक्कल र प्रमाणित प्रतिलिपि र सो नपाएमा प्रमाणित प्रतिलिपि प्राप्त गर्ने कार्यादेश तोकिएको छ ।
-नेपाल–भारतबीचका सन्धि–सम्झौता र समझदारी पत्र ।
-तत्कालीन इस्ट इण्डिया कम्पनी, ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्राचार ।
-नेपाल–भारत सीमा सम्बन्धी नक्सा (सुरुदेखि हालसम्म संयुक्त रुपमा र दुवै पक्षबाट प्रकाशितसमेत)।
-सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजनालगायतका सरकारी दस्तावेज ।
-सरकारी पत्राचार, प्रशासनिक आदेश र अन्य आधिकारिक तथ्य प्रमाण ।
-अदालती फैसला
-जग्गाको स्वामित्वको प्रमाणपत्र एवं राजस्व, मालपोत, भूमिकर तिरोभरो, तिरेका रसिद, भरपाई, पत्र वा आदेश, रुक्का, सनद सवाल आदि ।
